Last modified on 16 जुलाई 2017, at 15:55

नियन्त्रण / सविता गौतम दाहाल


बनाउँछु वाँस मिलाएर सुन्दर कुची
खोज्छु कुनै रंग पुगेर जंगल जंगल
कुनै आफै तयार गर्छु ,घोलेर पात र फूलको रस
अडिन्छु क्यानभाषनेर पुगेपछि
कुनै भाव, त्यँहा पोख्न सक्दिन् ।

बनाउँछु वन वन चहारेर रंगीचंगी फूलका माला
भेला पार्छु कन्दमूलका परिकार
माटोको सृंगार, झरनाको झङकार
निम्ता पठाउन हातनै अगि सर्दैनन ।

चराको संगीत, पातको लय, फूलको कोमलता
सबै सबै टिपेर, खिपेर
सजाउँछु, बनाउँछु आफूलाइ
सिक्छु मयूरसंग नृत्य
गर्छु गहिरिएर के के तयारी
कहिल्यै प्रस्तुति गर्ने समूहमा नाम टिपाउँदिन् ।

आएर हावा हरघडी भन्छ
वहेर पानी हरपल भिजाउँछ
उडेर वादल लुकामारी खेल्छ
इन्द्रेनी फकाउँछ
नियन्त्रणमा हुन्छन सारा इन्द्रीय
स्वतन्त्र कुनै गोरेटो हिड्दै हिडदैनन् ।

हरेक पटक आफ्नै लय व्यूझाउँछ
लाग्छ उघारुँ पर्दा र हेरुँ संसार अघाउन्जेल
पिऊँ प्रकृति प्यास लागुन्जेल
छोऊँ शुद्घ रेशमी पत्र
पुगुँ लहर लहर, हर प्रहर
क्रमशः भाव उफ्रन्छन र थाक्छन मौनताको नगर ।

घाम पोख्न पुग्छु विहानै
नपोखी फर्कन्छु
शीतलता छर्न कुरी वस्छु रातिसम्म
रितिन्छु चुपचाप
सपना सम्ममा म डराऊँछु
नियन्त्रणको गहिरो चक्रव्यूहमा नितान्त एक्लै छु ।