भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

अकविता २ / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



लोडसेडिङ उत्सव मनाउँदै छ देश
लोडसेडिङ उत्सव मनाउँदै छ समय
लोडसेडिङ उत्सव मनाउँदै छ मान्छे
म सम्पदा रुने देशको नागरिक
लोडसेडिङ मुस्कुराउने देशको बासिन्दा म
हरेक दिन गौरवले छाती फुलाइरहेछु।

 
लोडसेडिङ रोएका कम्प्युटरहरू
फ्यानहरू
ट्युबलाइटहरू
बल्बहरू
जेनेरेटर हाँसो हाँसेर रमाउँछन्
इन्भर्टरहरू बस्ती चाहार्छन्
घुम्छन् घुम्छन् र थन्कन्छन्
लोडसेडिङले चार्ज नबाँढेर
समयजस्तै
जिन्दगीजस्तै
मान्छेजस्तै।


बाटोकुबाटो उभिएर
लोडसेडिङ हाँस्छन्
भट्टीपसलहरू
रेडलाइट एरियाहरू
कालो बजार गर्नेहरू
अन्धकारमा चोख्याउँछन्
आफ्नो कुरूप अनुहार
अन्धकारमै हाडनाता करणी गर्छ
उन्मत्त समय
चेलीबेटीको हारगुहार
अन्धकारको ब्लुजमा हराउँछ।

 
हाँस्नुको सीमान्त मजासम्म
पग्लँदै मैनबत्तीहरू वेदना बल्छन्
क्रमशः ऊर्जा गुमाउँदै गएका
निरीह ब्याट्रीहरूको मौन पीडा
धावा बोल्छ विज्ञानमाथि
अन्धकार एउटा हरर फिल्म बनेर
नाच्छ मान्छेका आँखाहरूमा
र देखाउँछ आफ्नो उन्मत्त पुरुषार्थ।

 
हाम्रा धाराहरूमा हावा आउँछ
पानीका बदलामा
उज्यालो सञ्चारका नाममा
अँध्यारोमा ठिङ्ग उभिने बिजुलीका पोलहरू
तारहरू
ट्रान्सफर्मरहरू
मिटरबोर्ड
स्विचबोर्ड
स्विचहरू
फ्युजहरू।
हो, फ्युजहरू :
जो कहिलेकाहीँ जाने पनि गर्छन्
इज्जतका फ्युज
जिन्दगीका फ्युज
मान्छेका फ्युज।

 
भुत्रो कविता लेख्नु !
समय औँलो ठड्याउँछ
खबरदार ! विरोध लेख्लास्
मान्छे चेतावनी दिन्छ
बाँच्ने रहर पुग्यो कि क्या हो?
जिन्दगी गर्जन ललकार्छ
ओइ ! ओइ !! ओइ !!!
कवि मौन छ
शान्त छ
स्थिर छ
हिमाल हेर्छ कविताको अन्वेषणमा
पहाड पर्गेल्छ कविताको अनुसन्धानमा
तराईमाथि शोध गर्छ कविताकै खोजकार्यमा
अहँ कविता छैन कतै
खुइलिएको हिमालमा
छैन शुभ्रता
कहाँ भेटोस् बिम्ब कविले
मक्किएको/भत्किएको हिमालमा
छैन सौन्दर्य
कहाँ भेटोस् बिम्ब कविले
भोक ओडेर निदाएको तराईमा
छैन हरियाली
कहाँ भेटोस् बिम्ब कविले
बिम्बहरूको खोजीमा
प्रतीकहरूको अन्वेषणमा
बर्सौँ भौँतारियो
र फर्क्यो मेरो कवि
तर कविता लेख्न बिर्सेर।

 
गाग्राहरू छन्
पानी छैन
टाउकाहरू छन्
सिरानी छैन
पात्रहरू छन्
कहानी छैन
बैँसहरू छन्
जवानी छैन
मान्छेमा मान्छेको निसानी छैन
बँचाइ छ
जिन्दगानी छैन।


र त यति बेला
गरिरहेछन् :
गाग्राहरू पानीको विज्ञापन
गरिरहेछन् :
टाउकाहरू सिरानीको विज्ञापन
गरिरहेछन् :
पात्रहरू कहानीको विज्ञापन
गरिरहेछन् :
बैँसहरू जवानीको विज्ञापन
गरिरहेछन् :
मान्छेहरू निसानीको विज्ञापन
गरिरहेछन् :
बँचाइहरू जिन्दगानीको विज्ञापन।

 
मञ्च चढेर उर्लेका आश्वासनहरू
सौँसाँझै लुटिएका रासनहरू
चोकहरूमा रामलीला देखाइरहेका शासनहरू
च्यातिएका तनहरू
भाँचिएका मनहरू
लुटिएका जोवनहरू
खोसिएका गाँसहरू
लुटिएका बासहरू
मुर्झाएका आशहरू
घिटिकघिटिक सासहरू
निःशुल्क बाँढिएका त्रासहरू
आतङ्क बोकी हिँड्ने बतासहरू
हेरिरहेछन्। हेरिरहेछन्। हेरिरहेछन्।
बुझिरहेछन्। बुझिरहेछन्। बुझिरहेछन्
खेपिरहेछन्। खेपिरहेछन्। खेपिरहेछन्
आँखाहरू छैनन्। मस्तिष्कहरू छैनन्
मनहरू छैनन्। विचारहरू छैनन्
नभएका आँखाले हेर्नु छ
नभएका दिमागले सोच्नु छ
नभएका मनका कुरा गर्नु छ
कतै नभएका निर्विचार विचारहरू पोख्नु छ
र लेख्नु छ एउटा अकविता।

 
आऊ एउटा अकविता लेखौँ
अकविता :
जो आफैमा केही होइन
समयको रिक्तताजस्तो
आऊ एउटा अकविता पढौँ
अकविता :
जो कहीँ कतै केही छैन
आकाशको शून्यताजस्तो
आऊ एउटा अकविता भोगौँ
विसङ्गत समयजस्तो
निस्सार जिन्दगीजस्तो।

 
आऊ दर्शन गरौँ सबै मिलेर एउटा अकविताको
अकविता जसको आकार छैन। आकृति छैन
यो तँजस्तो छैन। तिमीजस्तो छैन। तपाईँजस्तो छैन।
हजुरजस्तो छैन। मजस्तो, हामीजस्तो सबैसबैजस्तो छैन।
यो समयजस्तो छैन। मान्छेजस्तो छैन।
जिन्दगीजस्तो छैन।

किनभने यसको कुनै जातित्व नै छैन।
किनभने यसको कुनै अस्तित्व नै छैन।