भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अक्सर म यहाँ आउने गर्छु / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अक्सर
यही मौसममा
म यहाँ आउने गर्छु ।

यो मौसम
हुस्सु आफ्नो अनुहार छोपेर
आफैँ रोइरहने मौसम हो !

अक्सर
यहीदिन
म यहाँ आउने गर्छु ।

यो दिन
हजारौं दिनहरू मध्ये
अत्यन्त अर्थपूर्ण
र विशेष दिन हो !

अक्सर
यही समयमा
म यहाँ आउने गर्छु ।

यो समय
बाटाहरू यात्रातिर जाने
जीवनहरू जीवनतिर जाने
आत्माहरू परमात्माहरूतिर जाने
दुर्लभ समय हो !

कसैले
बेनाम नदी बग्ने निर्जन जङ्गल
कसैले
फूल नफुल्ने उजाड मरुभूमि
र कसै कसैले
पहिरो खसिरहने हिउँको अधित्यका भन्छन् यो ठाँउलाई
तर / यो ठाँउ मेरो थकित हृदय बास बस्ने विश्राम स्थल हो !

अक्सर
तिम्रो याद आउँदा
म यहाँ आउने गर्छु !

०००