अचानक यो साँझ / ठाकुर बेलवासे
अचानक
यो साँझ
बाँच्नुपर्ने दिनहरू, वर्षहरू
अझै धेरै, धेरै छन्
जस्तो लागेर आयो ।
अचानक
यो झरी परेको साँझ
विगतका दुःखहरू
जो मरीमरी बाचेको स्वाँङ गरेका
दिनहरू भुलेर
आगामी दिनहरू
वर्षहरू
सबैसबै खुशी नै खुशीले भरिएका छन्
जस्तो लागेर आयो ।
अचानक
यो छिप्पिदो एकान्त साँझमा
दुःखको रङ कस्तो हुन्छ ?
दुःख भन्ने शब्द
अति हलुका लागेर आयो
स्मृतिपटलमा दुःखका
कुनै पनि अवशेष घुम्न सकेनन् ।
यसरी म
खुशीले बाधिएँ कि
संसार अति सुखमय छ
र यहाँ पीडा – दुःख केही छैनन्
दुःख त यी सडकले पाउने हो
जसका छातीमा असङ्ख्य
मान्छे र गाडीहरू हिँड्छन्
पीडा त
यी खोलाका ढुङ्गाले मात्र झेल्ने हो
जसलाई बहुलाएको बाढीले
लछार्दै – पछार्दै खियाउने गर्छ
यो पृथ्वीका मान्छेहरू त
हाँस्नका लागि मात्र जन्मिएका हुन्
म हाँस्न र रमाउन मात्र जन्मिएको हँु
जस्तो लागेर आयो ।
मर्न आतुर हुने त
दुःखमा मात्र रहेछ
सुन्दर पनि
कुरुप लाग्ने त पीडामा मात्र रहेछ ।
सम्बन्धहरू कोक्याउने त
अभाव अनि घृणामा मात्र रहेछ ।
खुशी आँखाले
यो रोइरहेको साँझ पनि
कति माधुर्य देख्दोरहेछ
अचानक
धेरैलाई विपत्ति परेको
यो साँझ
मलाई पि्रय-पि्रय लागेर आयो ।
तीस वर्षको उमेरमा
पहिलो पटक मैले
साँझका चराहरूसँग
रमाएर गीत गाएँ ।
उमेरको तीस वर्षमा
अचानक
म हाँसे
र बाँच्नुपर्ने धेरै युग छन्
जस्तो लागेर आयो ।
तीस वर्षसम्म
यो जब्बर र क्रुर समयले
खहरे खोलाको ढुङगाजस्तो
मेरा बाला, किशोर र जवान उमेरलाई
लछार्दै – पछार्दै किनारा छोडिदिएपछि
जीवनको अन्तिम दिन गनेर
उभिएको यो साँझमा
अचानक
तिमी आयांै
अचानक
मैले हातको डोरी छोडिदिएँ ।
र
तिम्रो अनुहारमा हेरिरहेँ
मैले खुशीसाथ
बाँच्नुपर्ने धेरै वर्षहरू
गन्दैगन्दै
अचानक
तिम्रो अनुहारमा
म हराएँ ।