अटोग्राफ / बैरागी काइँला
मेरो अटोग्राफमा-
कुन्नि के लेखिमाग्न भनेर होला...
मैले पठाएको हजुरकोमा...
एकै शब्द पनि लेख्न नसकी,
कति लजाएर,
मेरो हजुरले...
यौटा गुलाबी पन्नाभरि मात्र मुस्कुराइदिनु भएछ !
मेरो अटोग्राफको
गुलाबी पन्नाभरि मुस्कान पोखिदिएर
अझ गुलाबी गुलाबी बनाइदिनु भएछ ।
यसको आफ्नो कथा हुन्छ !
बसन्तमा-
फूललाई पनि शरम लाग्छ ।
हेर्नोस्न, फेरि हेर्छन् कसरी
तन्नेरी हृदयका अनुरागले भरेका दृष्टिहरू !
देखिन्छन् कति आतुर तिनीहरू...
अँगालोभरिका माया लिएर
चुम्बनको सिन्दुर हालिदिनुलाई
सिउँदोमा
गुलाबको !
मौनता त उसले शिर ढाकेको
पछ्यौरी हो,
भनिदिनुस्न, त्यसरी हातले उतार्ने धृष्टता गर्नु हुँदैन ।
फूललाई पनि शरम लाग्छ ।
भनिदिनुस्न, लजाउन दिनुपर्छ बैँसलाई,
कि उसले त अब
मानिसको धड्कनको उत्ताप सहन सक्तैन ।
उफ् ! प्रेमको स्वीकृतिले
शब्दको भार थाम्न सक्तैन ।
अनि हजुरको, लजाउनु पनि लाज मान्ने
राजकुमारीको झैँ- अनुहारले-
धरतीमा, शरमको भार थाम्न सक्तैन ।
अनि त कति लजाएर
फूललाई,
(वाणिको छलहीन मौनतासित)
पछ्यौरीभरि सिङ्गारेर,
अनि फूलको सौन्दर्यको केन्द्रमा
लजाइरहेको आफूलाई सजाएर,
मेरो हजुरले
मेरो अटोग्राफको पन्नाभरि लजाइदिनु भएछ ।
मेरो अटोग्राफको
गुलाबी पन्नाभरि मुस्कान पोखिदिएर
अझ गुलाबी गुलाबी बनाइदिनु भएछ ।
हाम्रो माया
हृदयभित्रको कुरा हो ।
लजिली झारझैँ यो मुलायम र कमलो हुन्छ ।
कि जार्जेटको फिसलनजस्तो
यो यतिसम्म हातमा नआउने हुन्छ ।
मेरो हजुर कसरी आवोस् अनि, यो...
प्लाष्टिकको कलमको क्षितिजभित्र ?
जसले मायालाई
दुनियाँको ईर्ष्यालु दृष्टिहरूका
इस्पातभन्दा चिसो हातहातमा राखिदिन्छ ।
शील र शरमले निधार छोपी
पृथ्वीका निर्लज्ज र नाङ्गो दृष्टिबाट
सौन्दर्यमा कत्ति आँच पर्न नदिएर
मेरो हजुरले
मेरो जीवनको रातो पन्नाभरि
मुस्कुराइदिनुभएछ कति साँच्चा कुराहरू...
हो, हजुर
अटोग्राफको पन्नामा
विस्मृतिको जलले पनि पखालिदिन्छ
शब्दहरूमा सम्झनाका क्षणहरू ।
उफ् ! शब्दहरूका सामर्थ्यले
बहँदो समयको प्रहार खप्न सक्तैन ।
अनि त,
कत्ति सम्हालेर
प्रेमलाई... ...
(उसको सम्पूर्ण तरुणाइसित)
हजुरको आँखा भरीभरी राखेको
बैँसको आम्खोराबाट... ...
मेरो हजुरले
मेरो अटोग्राफको
पन्नाभरि पोखाइदिनु भएछ ।
मेरो अटोग्राफको
गुलाबी पन्नाभरि मुस्कान पोखिदिएर
अझ गुलाबी गुलाबी बनाइदिनु भएछ ।