अनागत / भविलाल लामिछाने
तिमीले देखेको मान्छे— मभन्दा अग्लो छैन
मभन्दा पनि अग्लो मान्छे/मभित्र छ ।
च्यातेर पहाडका अनुहारहरू
एउटा बीभत्स वेदना भोगेको समय
मभित्र सग्लै सुतेको छ/मबाहिर सग्लै सुतेको छ ।
तिमीले देखेको सपना— योभन्दा अग्लो छैन
योभन्दा पनि अग्लो सपना/तिमीभित्र छ ।
पीपल र वरका जराहरू
गाडिएर माटोमुनि/चट्टानका विचारहरू
मस्तिष्कबाट उम्रिएर/पैतालाबाट गई
माटोमुनि गाडिएका कति वर्ष बिते?
उत्तर— ?
उत्तर— ?
उत्तर— ?
जान्छु, तिमी पीपल र वरका रूखजस्तै मूक बस्नेछौ
तिम्रो इतिहासको चेतन मान्छे अचेत हुँदै गएको छ
तिमी ढुङ्गामुढाजस्तै मूक बस्नेछौ ।
तिम्रा चेतनाहरू त कृतदास/मुक्ति माग्ने तर्खरमा सधैँ
अल्झिरहेछन्
यस युगको चेतन मान्छे अचेत हुँदै गइरहेछ ।
म अब ‘फोसिल’ बोकेर आउने सूर्यलाई सोध्दै छु
—मेरोपनि ‘फोसिल’ छ ? फोसिलै सही—
अस्तित्वको एउटा आभास/घाम पनि एउटा फोसिल हो—
आगोको फोसिल
त्यसैले/पहाडपछि उठेको धूवाँमा
आगो बोलेको सुन्दैछु ।
मान्छे त सबै ‘फोसिल’ भइसके
त्यसैले कोर्रा खाँदा पनि बोल्दैनन्
शरीर डाम्दा पनि बोल्दैनन्
ट्वालट्वाल्ती टोलाउने आँखाहरू— देखेर पनि केही बोल्दैनन्।
तिमी चुक्दै छौ ठम्याउन आकाशका पाइलाहरू
सायद एउटा आकाश आउँदैछ/र ल्याउँदै छ
एउटा–एउटा पाइला— एउटा–एउटा जुलुसहरू
एउटा–एउटा मान्छे— एउटा–एउटा इतिहास
एउटा–एउटा शब्द— एउटा–एउटा नारा
एकैछिन पर्खेर बस है, आकाश तिमीलाई भेट्न आउँदै छ
तिमीले भेटेको आकाश— तिमी भन्दा अग्लो छैन
तिमीभन्दा अग्लो आकाश/तिमीभित्र छ
मभन्दा अग्लो आकाश/मभित्र छ
हामीभन्दा अग्लो आकाश/हामीभित्र छ
एउटा कालपुरुष/बाजजस्तो पन्छीमा चढेर आउने कुरा प्रायः
निश्चित भइसकेको छ
र, समय अब पन्छी हुँदैछ
लगाम थाम्न सूर्यका हजारौँ हातहरू
दिगन्तबाट माथितिर उक्लिँदै छन्
बस, दुइटा मुठी खोलिदिँदा हुन्छ
प्रकाशका भोका र प्यासाहरूको ब्युँतिने कुरा प्रायः
निश्चित भइसकेको छ
हामी मुठी पर्खेर बसेका छौँ
तिमी मुठी पर्खेर बसेका छौ
सबै मुठी पर्खेर बसेका छन्
बस, दुइटा मुठी खोलिदिँदा हुन्छ
एउटा निश्चित दिशाबाट उज्यालो पोखिने कुरा प्रायः
निश्चित भइसकेको छ
पीडित र जर्जरित मान्छे बाँझो माटोजस्तै भएका छन्
मनका कुनै कुनाहरूमा कुनै गीत बज्दैन
जब हजारौँ वर्षपछि कुनै देशमा सङ्गीतको जन्म हुन्छ
अनि ढुङ्गाका फोसिलहरूमा प्राण पलाउँछ
चर्किएका चरहरूबाट जब विस्फोटसँग एउटा मान्छे जन्मिन्छ
त्यो मान्छे मात्र मभित्रको मान्छेजस्तो हुन्छ
आज तिमीले देखेको मान्छे— तिमीभन्दा अग्लो छैन
तिमीभन्दा अग्लो मान्छे तिमीभित्र छ
मभन्दा अग्लो मान्छे मभित्र छ
हामीभन्दा अग्लो मान्छे हामीभित्र छ
यी लहरै आकाङ्क्षाका हूलहरू केही पर्खेर बसेका छन्
एउटा नयाँ युग आउने कुरा प्रायः निश्चित भइसकेको छ