अनिद्रा / निमेष निखिल
आँखामा आगो नभएको भए
म पनि निदाउँथेँ होला- सपनाहरू सिरानी हालेर
निदाउँथेँ होला- ओढेर लाटो समय चुपचाप चुपचाप ।
बन्धकी खुसीहरूले विलाप नगरेका भए
शरणार्थी रहरहरू हड्तालमा नउत्रेका भए
भोकहरूले कालो झन्डा नदेखाएका भए
शोकहररूले दिनदिनै धर्ना नकसेका भए
म पनि निदाउँथेँ होला-
सपनाहरू अँगालो हालेर चुपचाप चुपचाप ।
व्यथाहरूको आक्रमणले आत्तिएँ
अनास्थाहरूको पहिरोले पुरिएँ
बगेँ आँसुसँगै विवश लहरहरू बनेर किनारैकिनार
र पखालिरहेँ परचक्री पाइताला आँसुहरूले बाध्यतामा
नत्र म पनि निदाउँथेँ होला-
रहरहरूको ओच्छ्यान हालेर चुपचाप चुपचाप ।
सङ्गति भत्किएको सिङ्गो परिवेश काँध हालेर
नसकेर समात्न आँखैअघिबाट भागिरहेका सपनाहरू
मिसाएर अर्समर्थ सुस्केराहरुको ताँती-
आफैँलाई र्स्पर्श गरेर जाने हावामा घरिघरि
आज पनि सुसमयको बाटो ढुकिरहेछु एक आँखा निद्रा बोकेर ।
पाइलाहरूको उत्साहित गति बिदामा बसेको भए
खुसीको घामले सपनामा आएर नजिस्क्याएको भए
पत्थर छातीमा मुक्का बजार्ने साहस मूच्छिर्त भएको भए
र तिम्रो अनुहारबाट मुस्कानले डेरा नसरेको भए
म पनि निदाउँथेँ होला-
खल्तीमा घाम र जून घुसारेर चुपचाप चुपचाप ।
आँखामा आगो नभएको भए
म पनि निदाउँथेँ होला- सपनाहररू सिरानी हालेर
निदाउँथेँ होला- ओढेर लाटो समय चुपचाप चुपचाप ।