अन्तर तिमी र मबीच / दीपक शम्चू
तिमी
उज्ज्वल भविष्यको अभिलाषा लिएर
सफलताको खुड्किलाहरू पहिल्याउँदै
बगैँचामा बेवारिस छोडेर कोपिला
रोज्दै हिँड्यौ सुन्दर फूल |
म
खुल्ला जीवनकै मैदानमा
वर्तमान जोगाउन सङ्घर्ष गर्दै रहँ
पाइलैपिछे, झसङ्गै बनाइदिने काँडा सुमसुम्याउँदै
बिझाइको अनुभव बटुल्दै बसें ।
तिमी कक्षाकोठाको आरामदायी बेन्चमा बसेर
किताबका पाना पल्टाउँदै
किरिङमिरिङ अक्षरबाट बनेका शब्दहरू बखान्थ्यौ
भाका मिलाउँदै धोक्रो सुकिन्जेल थर्किएको स्वर
फैलिँदै नागीतारसम्म आइपुग्थ्यो
"तारा बाजी लैलै" र "काग दाजै काग"
जहाँ म, गाईबाखालाई मनोमानी चर्न छोडिदिएर
आकाशमा हराएका जम्मै तारा खोजिरहेको हुन्थेँ
दुबोमाथि उत्तानो पल्टिएर ।
रूखका हाँगामा बसेर
घाटी तन्काउँदै मलाई हेरी कराइरहेको कागलाई
"शुभ बोल ! शुभ बोल !" भन्नुको सट्टा
"मेरा भेडाबाख्राको रक्षा गरिदेऊ; काग दाजै"
भन्दै बिन्ती बिसाउथेँ ।
तिमीले कागजमा पोखिएजति मात्रै विचार
जम्मा पार्यो गिदीमा
सिद्धान्तको लगाम पत्री अहम्को टाप बजार्दै
घोडाझैँ हिनहिनाएर बुर्कुसी मार्दै दौडियौ ।
मैले इन्द्रियहरूले अनुभव गरेजति
सबै महसुस सम्हालेर
आफू हुनुको अस्तित्व बचाएँ
बन्धन तोडेर सोचको
मीठो कल्पनाको संसार सजाएँ ।
तिमी विद्यार्थीबाट विज्ञ हुँदै
विश्व बदल्ने नायक भयौ,
म गोठालोबाट गोठालो हुँदै
जीवन डोऱ्याउने गोठालो नै भएँ ।
फर्की हेर त !
रूप बदल्दै बाँच्नेहरूको जीवन
कति... कष्टकर छ ।
०००