अन्तिमपटक / गीता त्रिपाठी
पहिलोपटक
तिमीलाई मैले नै राखेथें प्रेम प्रस्ताव
तिमीले प्रेमको नाममा
त्यही क्षण बार्गेनिङ गर्न सुरु गरेथ्यौ
र,
आजपर्यन्त हामीबीच
यो प्रेमहीन सम्बन्धको
बेग्लै उत्खनन जारी छ
प्रेमहीन सम्बन्ध र सम्बन्धहीन प्रेमको
लामो इतिहास बाँचेको यो सहरमा
उभिएको छ अभिमानको धरहरा
हाम्रो अघि पनि
तिमी चाहन्थ्यौ सम्बन्धालाई भ¥याङ बनाएर
आकांक्षाको गगनचुम्बी अर्को धरहरा उभ्याऊँ
सायद त्यसैले काँपिरहेछ यो जमिन
कतै ढल्दै पो छ कि ?
हामीभित्रको अहम् !
यो तुफानी फागुनमा
अझै पनि पर्खिरहेछु तिमीलाई
आजैको दिन गोलमाल भएको प्रेमको
अपूरो हिसाबकिताब
उही तिथि र घडीमा सुल्झाउन सकिएला नसकिएला
जिन्दगी सम्झौताको अर्को नाम
तिमी अवश्य आउनू
तिमी आउँदा
बरु थपिएर आओस् आँधी
तर,
बढारेर लैजाओस् हाम्रा अहम् र आत्मरागहरू
म चाहन्छु स्विकारेर एक–अर्कालाई
प्रेमसहितको सम्बन्ध बाचूँ
अन्तिमपटक
पुरानै प्रेमको नयाँ प्रस्तावमा
दोहोरे हस्ताक्षर गर्ने अभिलाषासहित
असीम प्रेमका सफ्ट कपीहरू
हृदयभरि फिँजाएर
पर्खिरहेकी छु तिमीलाई
आजसम्मका
सारा गुनासाहरू सहितका
प्रश्नका अनगन्ती चाङभित्रबाट
छुट्याएकी छु मात्र एउटै प्रश्न
र,
सोध्नेछु आज अन्तिमपटक—
“के तिमी मलाई प्रेम गर्छौ ?”
०००