अन्धराग / रमेश क्षितिज
अचानक केही हराएको थियो
दैलोमा टक्टक् आवाज दिएर
को हो त्यो बिस्तारै टाढिने ?
को गयो टेक्दै सुकेका पातहरूमाथि ?
पदचापहरू पछ्याउँदै हिँडेर
मात्र डोबहरू भेटेँ
त्यो घुमाउरो बाटोको धुलोभरि,
भेटिएन ओझेल भएर टाढा गइसकेको
आफन्तजस्तो लाग्ने त्यो आकृति,
को थियो त्यो
मन लाग्यो भन्दैमा आँगनछेउ फुलेको
मेरो प्रिय गुलाफ टिपेर लाने ?
कहिले पसिना चुहाएर
कहिले आँसु खन्याएर
कत्ति जतनले हुर्काएको थिएँ !
तारा सबै अस्ताइसकेका थिएनन्,
कुदिरहेको थिएँ म
एकनासले सपनाको मनोरम प्रदेशतिर
टक्क छेकबार लाइदिएर मेरो आवेगलाई
कुज्याइदिएको थियो कसैले खुट्टाहरू
दुःखको सर्पलाई लखेट्न अह्राइदिएर,
केही थिएन
थियो त केवल क्षयग्रस्त पहाडले छादेको
रातो बान्ता थियो फूलका झ्याङहरूमा
छोरी विदाइ गरेर फर्केको बुढो बाबुजस्तो
सुक्सुकाइरहेको सल्लेरी थियो
र थियो हाँगामा भर्खर पलाएका पातहरूमार्फत
‘खुच्चिङ’ भनिरहेको इष्र्यालु वसन्त,
वर्षौंसम्म बिनाकुनै परिवर्तन
अल्लारिँदै हिँडिरहेँ सधैं उही बाटो
अब त यो बाटोले पनि
के भन्दो हो ? के सोच्दो हो मलाई ??
भन्दो हो –
छामछाम–छुमछुम गर्दै के–के खोज्दै हिँड्छ
एक्लै बहुलाजस्तो
अझ भन्दो हो –
कठै ! भेट्दैन यो विचराले गुमाइसकेको केही पनि !
नेपथ्यमा को साउती मारिरहेछ ?
केले तानिरहेछ मलाई यसरी ?
तरंग अझै पोखरीमा
तैरिरहेछन् – ठोकिँदै, बग्दै
बग्दै, ठोकिँदै
ती झार उम्रिएका डिलडिलसम्म,
यी च्यातिएका कागजका टुक्राहरू, सुकेका पातहरू
कुल्चिएका तस्बिर र चुँडालिएका फ्रेमहरू
केही त अवश्य थियो त्यो !
कतै त्यो मेरो पहिलो प्रेम थियो कि ?