अब यसो गरौँ / निमेष निखिल
अब यसो गरौँ।
समातौँ दुखहरूको कठालो
र हमला बोलौँ सबै रोग भोकहरूमाथि
कुलेसो काटौँ मनका भ्रमहरू निकाल्न
अनि सम्पादन गरौँ असम्भव सपनाहरूलाई।
वयोवृद्ध सपनाहरूलाई थमाऊँ एउटा घँगारुको लौरो
निराश आशाहरूलाई दिऊँ शुभेच्छाको एउटा रातो गुलाब
अन्तिम पटक सन्धि गरौँ समयसँग मैत्रीको
र जारी गरौँ एउटा श्वेतपत्र―
विगतका सबै गल्तीहरूका नाममा।
युद्ध खेलिरहेका नानीहरूका हातमा
राखिदिऊँ सेता परेवा र सेतासेता फूलहरू
अनि लेखिदिऊँ सिङ्गो आकाशको नीलाभ
गाउँ, सहर र संसारका सारा मान्छेको नाममा।
हाँसोको रोगन लगाइदिऊँ उदासी टाँसिएका अनुहारहरूमा
सेता हिमालहरूको सौन्दर्य उभ्याइदिऊँ―
आँसुले भिजेका आँखाहरूमा
झुक्याएर जङ्गलतिरको बाटो लगाइदिऊँ―
पीडाहरूको लामलाई
र घडाहरू राखेर स्वागत गरौँ बस्तीमा―
सुखहरूको जुलुसलाई।
उतारेर भए जति वेदनाहरूको आवरण
मसिना खुसीहरूको बिस्कुन हालौँ मनको आँगनभरि
द्वेषका एकएक तगाराहरू भत्काएर
मान्छे नै मान्छे लेखौँ सम्पूर्ण भूगोलभरि।
अब यसो गरौँ।