अमिला दिनहरू / निमेष निखिल
काखी च्यापेर क्रूर समय
चपाइरहेछु
अमिला दिनहरू/ तम्तम्याइला क्षणहरू
विस्तीर्ण सपनाहरू समेट्ने
असफल उपक्रममै बित्छन्/भत्किन्छन् दिनहरू
भावनाका असमेल सागरहरूमा
निरुद्देश्य पौड्दैमा चिप्लिन्छन् दिनहरू
कायरताको लावालस्करले
आफ्नै पौरुषमाथि धावा बोल्दा पनि
सहनशीलताको नाममा
किच्च हाँसेर बिताउँछ त मात्र दिन बिताउँछ मान्छे
असमर्थताका गगनचुम्बी पिरामिडहरू
छातीभरि बोकेर उभिन्छ त
एउटाएउटा सिङ्गो दिन उभिन्छ मान्छे।
खै, के बाँचिएछ जीवन आजसम्म!
चाहनाहरूको सङ्क्षेपीकरण गरेर
केवल तेत्तीस प्रतिशतमा खुम्चिरहेछ जीवन
केवल पाँचवटा
सारभूत बुँदाहरूको टिपोटमा उल्झिरहेछ जीवन
तर कठै !
संरचना भत्केपछि जीवनको
कहाँ मिलाउन सकिँदो रहेछ र
ह्रस्व र दीर्घहरू सच्याएर
कर्ता र क्रियाको सङ्गति मिलाएर।
प्रतिपल अग्लिरहेको विषादको पहाड छ मअघि
तैपनि हिम्मत हारेको छैन अझै
पाइताला डगमगाएको छैन
दुःसाध्य दिनहरूको कठिन यात्रामा
हिँड्दै छु म अझै हिँडिरहेछु
लाग्छ, समय अलिकता म भएर बाँचेको छ
म अलिकता समय भएर बाँचेको छु
दिनहरूको जुलुस आज पनि हिँडिरहेछ
सपना कुल्चँदै
जीवन नामको राजमार्गमा।