अस्ताउन लागेको सूर्यः एक कविता / सञ्जय बान्तवा
डुब्न लागेको सूर्य
दिनहरूको पहाडसँगै मान्छेका क्षितिजमा,
यो साँझ
मनहरूमा फेरि अनेकौँ लहडको बादल उठेको छ
सधैँ खोँच परेका यी आँखाहरूको दृश्यबाट ।
प्रत्येक भेटमा मलाई बिहानले
एउटा विक्षिप्त दिउँसो भएर सताउँछ
मेरो उपस्थितिका तारहरू अझ कस्सिएर
यो साँझ परिरहेको बेला
यी कल्पनाहरूमा अनेकौँ दुःखको यही गीत बजिरहन्छ ।
अस्ताउन लागेको घामले
मेरा निम्ति रातको निःस्तब्धता
छोडेर जान लाग्दा
यो साँझ झर्दै गरेको बेला
मेरा खुसीहरू/जिन्दगीहरू वास खोज्न उडेका छन्
सधैँ कता–कता पुगेको मेरो मनका दूरान्तहरूबाट ।
मलाई भने आफ्नो मोहले पटक्कै छोड्दैन,
प्रसङ्ग उठेर सधैँ यही दृश्य र दृष्टान्तहरूको
तरङ्ग भाँचिइरहन्छन्;
म समुद्रको किनारमा उभिएर
जस्तो आफूभित्र छाल उर्लिरहेको छु ।
सम्बन्धित मेरा दृष्टिहरू कुदेका छन्
सूर्य अस्ताउने क्षितिजको आङतिर,
जसरी सधैँ मेरा पाइलाहरू
रातको झ्याङ पन्छाउँदै
मेरै निम्ति मात्र उज्यालो घर खोज्दै फर्कन्छन् ।
आफूलाई सुमसुम्याइरहने कल्पनाले मलाई कहिल्यै बिर्संदैन,
म आफ्ना आँखाहरूमा बगेर
डाँडा र पहराको ठोसता छामिरहन्छु
डुबिरहेको सूर्यलाई सङ्केतको बत्ती देखेर
जस्तो म आफूलाई बिर्संदै
सायद सधैँ यसैले खोजिरहन्छु/खोजिरहेको छु ।