भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आँधी आएको छ / कुन्ता शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


लामो समयको निस्तब्धतापछि
कोमल स्पर्श गरेर छुस्छुसाउँदै
भाग्ने बतास
अशान्त भएको छ
असन्तुलित भएको छ
यताबाट उता हुइँकिन्छ
उताबाट अन्तै कतै हुइँकिन्छ
उघारेर जोडले झ्याल र ढोकाका पल्लाहरू
कोठा–चोटाहरूमा उत्पात मच्चाउँछ
ठाउँठाउँमा भुमरी उठाउँछ
कर्कश ध्वनिहरू प्रवाहित गर्दै
भयावह–भयावह गर्जन निकाल्दै
प्रत्येक क्षण उत्तेजित हुँदै गएको छ
सर्वत्र प्रभाव जमाएको छ
आँधी आएको छ, आँधी आएको छ ।

सुकेका पातहरू डुलिरहेछन् फरफर
धूलिकणहरू उडिरहेछन् सरसर
मच्चिँदै छन् हाँगाहरू
हल्लँदै छन् रूखहरू
भत्कँदै लड्दै छन् जीर्ण–शीर्णहरू
तिक्तता मेटिँदै छ एकरसताको
व्यूह भत्कँदै छ निरसताको
सबै कुरा फेरिएको छ
आँधी आएको छ, आँधी आएको छ ।

फाट्तै छन् तुवाँलोका पर्दाहरू
भिन्नता छ नियमिततामा
व्यग्रता छ स्वाभाविकतामा
खलबल मच्चिएको छ एकाग्रतामा
उलटपुलट छ, उथलपुथल छ
छुस्छुसाएर काउकुती लगाउँदै
बग्ने बतास
औधी रिसाएको छ
हरेक क्षण हुङ्कार–गीत गाएको छ
आँधी आएको छ, आँधी आएको छ ।

छटाहरू बेग्लै छन्
दृश्यहरू फरक छन्
स्थिरहरू डोलायमान छन्
मौनहरू सलबलाएका छन्
जडहरू पनि चलमलाएका छन्
पददलितहरू शिरमाथिमाथि
उड्दै गएका छन्
परिवेश एकदमै बेग्लै छ
निस्तब्धताले खैलाबैला मचाएको छ
आँधी आएको छ, आँधी आएको छ ।

बटुलेर समस्त ऊर्जाहरू
भत्काउँदै जर्जर बुर्जाहरू
उराल्दै भयानक स्वरहरू
फिजाउँदै रौद्र रूपहरू
समय बेग्लै आएको छ
मौनताको कारागारभित्र बन्दी बतास
उत्तेजित भएको छ
प्रकृति नराम्ररी रिसाएको छ
आँधी आएको छ, आँधी आएको छ ।

कता केके भत्कने हुन्
कता केके विध्वंस हुने हुन्
कोको आत्तिने हुन्
कोको भयग्रस्त हुने हुन्
कसकसले ओठमा स्मित मुस्कान लिने हुन्
अनौठो अलौकिक आभा जताततै छाएको छ
प्रकृतिमा नौलो परिवर्तन आएको छ,
आँधी आएको छ, आँधी आएको छ ।

सर्वत्र उत्तेजना छ,
सर्वत्र गतिशीलता छ
मुट्ठीहरू इस्पात बनेका छन्
पैतालाहरू दु्रत–दु्रततर हुँदै गएका छन्
त्रास कता हो कता हराएको छ
साहसले सर्वत्र साम्राज्य फिँजाएको छ
चकचके बालकजस्तो कोमल बतास
आक्रोशित भएको छ
आँधी आएको छ, आँधी आएको छ ।

थरथर छन् जर्जरहरू
भयकम्पित छन् सरदारहरू
मालिकहरू सालिक भएका छन्
अनौठा छन् दृश्यावलीहरू
हाँगाहरू मच्चिरहेका छन्
पातहरू फरफराइरहेका छन्
सृष्टि उन्मुक्तताको दिव्यवृष्टि गर्दै छ
आँधी आएको छ, आँधी आएको छ ।

निम्छराहरू साहसपुञ्ज बनेका छन्
अवरोधहरू भत्किएका छन्
विरोधहरू गतिरूद्ध छन्
मौनता नराम्ररी खलबलिएको छ
सृष्टिले बेग्लै आलोक पाएको छ
समयले नौलो सौगात ल्याएको छ
आँधी आएको छ, आँधी आएको छ ।

कलुषित ओठहरूमा मुस्कान पोखिएको छ
कपट लुकेको छ, स्नेहभाव देखिएको छ
लाचार छन् पापाचारहरू
दिव्य सौन्दर्य पोखिएको छ सृष्टिमा
भयानक कालरात्रिपछि
नयाँ दिन उदाएको छ
धरतीमा ठूलो खुल्दुली छाएको छ
हो, युग परिवर्तनको समय आएको छ
आँधी आएको छ आँधी आएको छ ।