भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आऊ हामी सम्भोग गरौँ / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ए मूर्ख आइमाई !

ट्वाल्ल परेर नबस
संसार आफ्नै सुरमा कुदिरहेको छ ।

उसको आफ्नै वेग छ
उसको आफ्नै वेद छ ।

यसो गरौं
आऊ ओछ्यान मिलाऔँ !

हावामा हावासँग हावा हुँदै
आगोमा आगोसँग आगो हुँदै
ग्रामीण बस्तीको चौतारी
देवालय - शौचालय भत्काउँदै जोसुकै हिँडोस् ।

जोसुकै हिँडोस्
बहुरङ्गी नाराका उत्तेजनाहरू फलाक्दै
आऊ
हामी यो एकान्तमा निर्विचार - निर्वस्त्र उभिऔँ !

ए निरक्षर आइमाई !
कूटनीतिको कुनै स्पष्ट भाषा हुँदैन ।

राजनीतिको कुनै प्रष्ट व्याकरण हुँदैन ।

आऊ
तन्ना ओछ्याऔँ !
हिँस्रक विचारको अघिपछि पछिअघि गरिरहन
हामीसँग फुर्सद नै कहाँ छ र ?

हामी त
यो युगको अन्तिम जोडी होऔँ ।

हामीसँग
गर्भाशयमैं मरेका शिशुहरू छन्
वृद्ध पृथ्वी
रोगी सभ्यता
र / प्रशस्त अपूरणीय क्षतिहरू छन् ।

हामीसँग
कुहिएका फूल
डढेका सपना
र / प्रशस्त अवर्णनीय पीडाहरू छन् ।

हामीसँग
फुटेका आँखा
भाँचिएका खुट्टा
छिनालिएका टाउका
र / टुक्राटुक्रा शरिरहरू छन् ।

हामीसँग एउटा अर्थहीन उपस्थिति छ
हामीसँग एउटा अर्थपूर्ण अनुपस्थिति छ !

हामीलाई
आकाशका अवशेषहरू बटुल्दै
निर्माण गर्नु छैन अर्को आकाश
तारापुञ्जहरूमा नियोजित प्रकाश छरेर
थप्नु छैन अर्को तारा ।
बितेर गएको इतिहासको छातीमा लेख्नु छैन -
असत्यको आधुनिक कथा !

हामी त
नदीका अविरल सन्तानहरू हौँ ।

किनारामा जीवन पर्खेर किनारा मैं खरानी हुनु -
हामीलाई किमार्थ स्वीकार्य छैन ।

मत्स्य-जुनीको काल्पनिक पोखरीमा
लास जस्तो तैरिएर कति छचल्किनू ?

हामीलाई पुग्नुछ सत्यको - शान्त चिहान !
ए दिग्भ्रमित स्त्री !
आऊ
यो आदिम जङ्गलमा कामदेवको प्रार्थना गरौं
आऊ
तिम्रो सनातन योनीको अनुष्ठान गरौं
आऊ
मेरो प्राचीन लिङ्गको आराधना गरौं ।

ए लाटी !
यो भीडले कुल्चेर गएको बहुल पाइतालाहरूमा
कति बाटाहरू पुरिएका छन् ?
कति यात्राहरू पुरिएका छन् ?
कति यात्रीहरू पुरिएका छन् ?
अंकहरूको अन्तिम गन्तव्य शून्यता हो
आऊ
मौनताको अनन्त गहिराइमा समाधिस्थ होऔँ !

आऊ
हामी नसुने जस्तो गरौं
आऊ
हामी नदेखे जस्तो गरौं
आऊ
हामी नबोले जस्तो
आऊ
हामी नभए जस्तो गरौँ ।

यो ब्रम्हाण्डमा अस्तित्वका असंख्य विरोधाभासहरू छन्
असंख्य ईश्वरहरू छन्
असंख्य धर्म र / व्याख्याहरू छन्
असंख्य वाद र / सिद्धान्तहरू छन्
असंख्य भ्रम र / रहस्यहरू छन् ।

आऊ
प्रेम बिर्सेर आऊ
आऊ
कुण्ठा बिर्सेर आऊ
आऊ
सम्पूर्ण आगत / विगत र / जगत बिर्सेर आऊ ।

ए पतित नारी !
आऊ
यो पतित पुरुषको अँगालोमा आऊ
जिब्रो चाटौं
कान टोकौं
शरीरमाथि शरीर घिसारौँ ।

हामी ठीक त्यसरी नै स्खलित होऔँ
जसरी
ईश्वर आफ्नो धर्मबाट स्खलित हुन्छ
जसरी
प्रकृति आफ्नो नियमबाट स्खलित हुन्छ
जसरी
सरकारहरू आफ्नो दायित्वबाट स्खलित हुन्छन् !
ए पवित्र नारी !
आऊ हामी सम्भोग गरौँ !

०००