भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आकाशवाणी नसुनेर / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अरे ! खै आकाशवाणी सुन्ने कानहरू ?

दोकान छ भजन बज्ने सिडीको
पूजा-सामग्रीको, धर्मपुस्तकको

तर आकाशवाणी सुन्ने कानहरू चैं खै ?

असार लाग्दै बियाड राखेको थिएँ
खेतभरि विश्वास लहलह फलाऊँ भनेर
तर खडेरीले छाती पटपट फुटिरहेछ

खै कहाँ छ संसारी पूजा गर्नुपर्ने बाँसको अग्लो लिङ्गो
रङ्गी-बिरङ्गी धजाहरू टुप्पा टुप्पामा बाँधिएको ?
हामी सानो छँदा फेदाङमाले
मुन्धुम फलाकेर उडाइपठाएको एक जोर परेवा
आकाशमै अल्पियो कि !

खै फेदाङमा ?
देउताको नजरमा कोही छैन कि अचेल
फेदाङमा उत्रिन लायक !

घुङरिङ खुर्केर
फुर्का
फुर्का
फुल्दा
आस्था मीठो हाँस्थ्यो

अरे ! तिगेनजोङना,
कता हिँडेकी यसरी ठाँटिएर
इयरफोनले दुवै कान बुच्च्याएर ?
उता तिम्रा बाघ-छोरा र मान्छे-छोरा
एकअर्कालाई मार्न लड्दैछन्
+
अचेल आकाशवाणी हुन्छ कि हुँदैन, जान्दैनौँ ।
साँच्चि, डक्टर, भन्नोस् त
मेरो यो स्टाइलिश टी-शर्टको पकेटदेखि
मुटु कति टाढो छ हँ ?
+
कसले अपहरण गरेर कहाँ पुर्यायो नि मोजेजलाई
जो आफ्ना दसवटा कानमा दसवटा आकाशवाणी बोकेर
हामीबीच आएथ्यो एकपल्ट !
+
ती प्राचीन नाविकहरूले पाएको सरापको छायाँले
हामीलाई अझै कम्ति पोल्दैन हौ !
हम्किन आएको त्यो ठूलो समुद्री-चरा
किन पो मारिपठायौ नि !
आज मलाई
त्यसको यौटा प्वाँख भए पुग्थ्यो
म सिउरिन्थें शीरमा ठाडो ।

+
आकाशवाणी सुन्दैनौं ।
खालि शब्दहरू छन् अचेल स्याउँस्याउँती
अर्थहरू भत्काउँदै निस्केका छाडा शब्दहरू ..
तिनीहरूकै एजेन्सीको सन्जालमा म एक उपभोक्ता
कत्ति बेला फँसिसकेको हुन्छु ।

चक्रव्यूहभित्र छु म अभिमन्यु
निस्कनु कसरी? थाह छैन ।
ओम तागेरा निङवाफुमाङ !
मलाई उद्धार गर ।