भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आकृतिमय ढोका / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


कहिल्यै नढकढकाएको
हात्ती ,कलश, झण्डा कपिएको
ढोकाभित्र
कोही बस्छ
तिम्रै ढक ढक पर्खिएर ।

आउछौ–जान्छौ आलिशान बैठक
भैरहन्छन तिम्रा विशिष्ट भेटघाट ।
तिम्रो आस्था मिल्ने ऐतिहासिक घरभित्र
कति कोठा होलान् ?
को को होलान् ?
कस्ता होलान् ?
कुनै पल, सोचेका छौ ?

झ्यालबाट सुटुक्क हिडेको पियानो घून
प्रतिपल प्रतिक्षा गुनगुनाएको संगीत
भेट्दा
उजेलिएको तिम्रो अनुहार
विहानीमा रुखहरु माँझ उज्यालो चिहाए जसरी
जालिदार पर्दाको कुनाबाट चिहाउने
कुनै आँखा होलान्
कुनै क्षण एकान्तमा, सोचेका छौ ?

तिम्रो परिचित आवाज
विजयमा निस्केको योद्धाजस्तै आत्मविश्वास
विद्वतामा तिमीले दिएका तर्कहरु, दर्शनहरु
वन्द कोठासम्म
घुमाउरो बाटो आइपुग्छ ।

अनादिकालको निरन्तरता जान्दछ तिमीलाइ
फुलेको फुलसंगै छरिएको सुगन्धझै ।

दिनरात मेहनत सिंगारेर
मैले बनाएको उद्यान
जहाँ पस्दा–निस्कदा
तिम्रा आँखाको भाव चिहाएरै पढने
कोही यतै कतै वस्छ, सोचेका छौ ?

तिमीले कहिल्यै नगाएको गीत
म किन सुन्छु ?
तिमीले नपढेको कविता
म किन बुझछु ?
तिमीले नपोतेको क्यानभाषका रंगहरु
म कसरी चिन्छु ?

प्रश्न लिएर आउलाऊ कुनै दिन
आकृतिमय ढोकाभित्र
कोही बस्छ
तिम्रै ढकढक पर्खिएर ।