भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आक्रान्ता रहर बोक्छ / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कहाँकहाँ दुख्यो होला
कताकता घोच्यो होला ?


निष्ठुर भई
निस्केको छु यात्रामा
आक्रान्ताझैं,
जो
छोडेको ठाउँलाई पिरोल्छ
टेकेको ठाउँलाई पनि पिरोल्छ ।

कहिलेसम्म हो ?
कहाँसम्म हो ?
मेरो पिरोलाइको यो जीवनयात्रा ?

तिमीले चाह्यौ, तिमीले पाइनौ
तिमीले खोज्यौ, तिमीले भेटिनौ
सायद, रोयौ कतै कुनामा ।

त्यसको के नै अर्थ छ र!
कि तिम्रा आँखामा मेरा पनि आँशु थिएँ
तिम्रा घाउहरूमा मेरा पनि अङ्ग थिए;
जब म
आक्रान्ता भै लुटिरहेछु
आफूलाई, समयलाई र जीवनलाई,
एउटा अप्रिय कालखण्ड भएर
च्यातिरहेछु मिलनका पलहरूलाई ।

दिनदिनै
छोटिँदैछ मैले बिसाउने समय
पलपल गिँडिदैँछन्
मैले तिम्रा आँशु पुछने साँझहरू ।

तिम्रा आँखामा मुस्कानहरू
र तिम्रा ओठमा खुशीहरू
तर
सँधै मेरो रहर मात्र बनेको छ ।