भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आगाले भिजेको आकाश / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


म्वाइँका छापभन्दा धेरै गाढा
स्नेहको आभासका कोमलतम् स्पर्शहरू
मबाट अलग्गिएर गएका पनि हुन्‍
दुर्वोध कुनै पृष्ठभूमिभरि।
 
छरिएका ती मायाहरूलार्इ
नदेखेझैँ, देखेर पनि
नभेटेझैँ, भेटेर पनि
उद्वेगहरूलार्इ आँखामा आएका
पुछ्‍न खोजेको पनि हुँ
पुछेको पनि हुँ।
साँझको एउटा रुमानी र बैरागलाग्दो आकाशमुनि
मैले हेर्दाहेर्दै बाटाहरू आफ्नै सुरमा कतै गइरहे,
मैले भोग्दाभोग्दै क्षणहरू विक्षिप्त र निराश पनि भइरहे।
त्यस क्षणमा
केही सुस्केराहरू अन्यौलमा परिरहे।
 
यो बैँसमा
बैँस आउनु नै अपराधजस्तो
आँखाको अगाडि कुनै दृश्य देखिनु नै
आँखाको अभिशापजस्तो
जीवनभरि जीवन बाँच्नु नै कुनै श्रापजस्तो।
 
तर पनि मायाका ती तमाम आकाशहरू
मायाले भरिएकै थिए।
बैँसका ती अकूत क्षणहरू
बैँसले मातिएकै थिए।
 
मैले एउटा क्षण
फेरि पनि
आफ्नो लागि चाहिरहेको थिएँ।
मैले एउटा समयलार्इ फेरि पनि आफूजस्तै बाँचिरहेको थिएँ।
 
त्यस क्षण र
त्यस वरिपरिका केही क्षणहरूमा
भित्ताहरू भएर पनि थिएनन्‍ मेरा लागि
जमिनहरू भएर पनि थिएनन्‍ मेरा निम्ति
समयहरू भएर पनि थिएनन्‍ मेरा खातिर
आगो बग्दै थियो
पसिनाहरू बाफिँदै थिए
आ-आफ्ना कामका लागि।
 
मेरा निम्ति थिएन केही पनि।
 
तमाम मायाहरू भिजिरहेथे आकाश बोकेर पछ्यौरीका सप्कामा।
 
बाटाहरू हिँडिरहेथे,
घरहरू हेरिरहेथे।
 
सबै
आ-आफ्ना दायित्व निभाइरहेथे।
आ-आफ्नो अस्तित्व खोजिरहेथे।