भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग १८ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

करोड मानिस क्रिश्चियन भए पनि
तर क्राइस्टको क्रिश्चियनपना पनि
क्राइस्टसितै मर्यो्,
उनको प्वाल पारिएको छातीबाट
लडीबुडी गर्दै भुइँमा खसेको
फिका गुलाफी मानस जस्तो
प्रेमको पारदर्शक थोपो
उनका भक्तहरूको बीचमा
घृणाको रक्त समुद्र भयो,
हिंसा प्रतिहिंसाको तरङ्ग बढीकन
क्रूसेडको रूपमा छालले बराबर
फणा उठाउँदै डस्न थाल्यो–
घातको नाम धर्मयुद्ध भयो :
जेरुसलेमको धावा गर्दै हिंडेको युद्धयात्रा
पहिलो विक्रमीय संवत् एघार सय छप्पन्नमा,
काटिएकाहरूको रगतले गर्दा
मानिस सडकमा चिप्ली लोटे,
दोस्रो बाह्र सय चारमा ,
तेस्रो बाह्र सय छयालीसमा,
चौथो बाह्र सय उनान्साठीमा,
पाचौं बाह्र सय अठहत्तरमा
बालकहरूका कलिला खुट्टाको युद्धयात्रा :
छैटौं बाह्र सय पचासीमा,
तेह्र सय एकमा क्रिश्चियनबाट
फेरि मुसलमानले लिए,
सातौं तेह्र सय सातमा,
टेनिसको भकुण्डो हातमा साटिए झैँ
उन्नाईस सय पचहत्तरको युद्धमा
मुसल्मानहरूको हातबाट
फेरि क्रिश्चियनले लिए।
ल्याटिन र बिज्यान्टिनको मुठीमा
क्रूसेड र जेहादको नाममा
ईश्वरका सिपाहीहरूको बीचमा
मानवताको हत्याको रूपमा
अझसम्म खोसाखोस हुँदैछ–
जेरुसेलमको
रातो हिलो।