भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग १ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अहो! – आगाको धानी धार पाइन चढेको!
पखेटा समेटी उछिट्टिई उडेको पानीको लप्को!
ज्वालाले चाटेर जिब्रो टल्काउँदै बिलाइदिएको जलको अन्तिम बल र चीत्कार
पानीको बुनौटले घेरिएको जालभित्र माछाजस्तै फटफटाउँदै मरेको अग्निको
आर्तनाद
प्रत्यक्ष भएर पच्तैछन्।
सुनौला आगो रुपौला पानी,
मनिक फिलुङ्गो छ हीरा हिउँ,
यिनको झगडा आजको होइन :
यिनको वैमनस्य र बाझाबाझ,
संघर्षण, लुछाचुँडी, जुद्ध, च्याताच्यात,
काटाकाट र मारामार सब
अनन्त हाँडी भुटिएर फूल उठेका जम्माजस्मै ती ताराहरू गुडिनुभन्दा
अनन्तकाल अगिदेखिको –
कोटि कोटि कोटि कोटि …
शताब्दीभन्दा अगिदेखिको हो।
आकाश र वायुका लोहरी पिरामा
बेलिएको रोटी झैँ नेबुला
पथारिंदै गोला गोली पर्दै
सूर्य र ग्रहहरू पाके,
अनि पृथ्वी, –
आगाको भरभराउँदो एक सुन्तला भूगोलमा
बटारिएर लप्किरहेको ज्वालाज्वालाको समूह –
अहङ्कारले अन्ध भईकन भुनभुनाएको गर्जन –
आफूसका कानेखुशी, खिचाइ, न्याना आलिङ्गन –
एकछत्री आधिपत्य आत्मतृप्तिको कम्पन व्याप्त भएका थिए सबैतिर,
तर उनकै अन्तरबाट
दलित शोषित भै शेष रहेको
उम्लेको तातो पानीको बाफ –
अभिपन्ने१ जलसङ्घ
क्रान्तिले कालो नीलो प्याजी भै
अटेसमटेस गर्दै निसासिंदै उम्की माथिमाथि उत्र्यो।
तलतिर आगो दन्कन लाग्यो,
त्यसको मास्तिर वरिपरि जम्मै
अन्तरिक्षमा झुण्डिरहेको समुद्र छट्कन लाग्यो।
लाखौं गड्याङगुडुङमा थर्की
लाखौँ चट्याङचुटुङमा चर्की
पृथ्वी चोइटिंदा उप्की एक डल्लो झिल्को
बादलभन्दा पनि धेरै माथि हिमांशु
चन्द्रमा भई घुम्न थाल्यो।

क्रमश: अगाडि