भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग २० / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पृथ्वीको सबभन्दा अग्लो पुर्पुरो
नेपाल हिमाचलको चुचुरो
सगरमाथाको बैठकवरिपरि जम्मै
हूणले संसार डढाएझैँ
त्यही डोरेटो समाती
फेरी प्लेगले– कालो मृत्युले–
अदृष्ट अग्निले छाला खहराउँदै
एशियामा तथा यूरोपमा
करोडौं प्राणीको प्राण सुकायो।
सामान्य मृत्युले कैयन् मानिस
साधारण चक्रमा थिचिंदै मथ,
छिटो घुमेको देशानचक्रमा
कैयन् लपेटिँदै मर्थे,
भूकम्पादि प्रकृतिचक्रमा
कैयौँ चूर्ण हुँदै मर्थे ,
वैमनस्यको चक्रव्यूहमा धूवाँ भई कैयौँ मर्थे,
जित्ने, हार्ने, बस्ने, दगुर्ने,
विचार गरी चिन्तामा डुब्ने,
चिन्ता बगाउन रक्सी पिउने
सबले साझा सत्यवादी
एउटा–
केवल एउटै मात्र
मृत्युलाई देखे।
तर दायाँ रन्केर कुर्लन्छ–
‘मर्नै पर्छ भने बाँचुन्जेल
रातो तातो फलाम भईकन
प्रभुतासाथ नबाँच्नु किन ?’
तर बायाँ सुस्तरी बिस्तारै बोल्छ,
‘मर्नै पर्छ भने बाँचुन्जेल
मनुष्य मात्रको हितको निम्ति
जीवन अर्पण नगर्नु किन ?’
बलियाले एउटा हाँगो मुठ्यायो,
निर्धाले अर्को हाँगो,
हुने मञ्जुल ओतमा बस्यो,
नहुने रुझ्दै बाटो लाग्यो।
अनि किसानको विद्रोह चल्यो,–
बेलायतमा जोन बालले
‘मानव मात्रको समान अधिकार
हुनुपर्छ’ भनेर कराए,
सामन्तीहरूले उनलाई
बौलाहा रोगी भनेर थुने।
परन्तु किसानहरूका खेतमा
बारम्बार सुख्खा परे पनि
उनका मनमा विचार–विचारको झरी
कहिल्यै थामिँदै थामिएन।
बाहिर शिशिर वसन्त आए,
ग्रीष्म शरत् हेमन्त ऋतु आए,
वर्षा पनि आयो,
तर भित्र बादल जम्मा भईकन
एकचोटी बर्सन थालेको विचार
बर्सिरह्यो, बर्सिरह्यो,
बादल फाट्यो नील नभमा भानु देखिए,
तर सिक्री छिनाली बन्धनद्वारा तोडी
मुक्त भएको गम्भीर विचारको वर्षा
छिद्रमा व्याप्त भयो।