भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग ६ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यसरी आगो सल्केको बेला
शक्तिको खाँडो जाग्यो –
दुर्बलले आफ्नो नाडी छामी
शक्तिमानको पूजा गर्योम,
ईश्वर जन्म्यो,
लुटाहा विजेता शासकको प्रासादमा
स्वर्ग जन्म्यो,
विजित शासित रोगीको झुप्रामा
नरक जन्म्यो।
वनमा आगो दन्कन थाल्यो,
मधुच्छन्दा ऋषि गाउन थाले –
‘अग्निमीडे पुरोहितं यज्ञस्य देवमृत्विजम्।’
‘हे इन्द्र! तिमीले शत्रुको दुर्ग नास्न सक्यौं,
अग्निले झैँ गुफाका गाईहरू खोस्न सक्यौं!’
मेघातिथि ऋषि लागे गाउन –
‘इन्द्र सोमं पिव ऋतुना’३
‘मद्य वीर शूर इन्द्रको काँध
बयलको जस्तै हृष्टपुष्ट छ।
इन्द्र र अग्नि उग्र वीर हुन्।
‘इन्द्रले भनेका छन् स्त्रीहरू स्वाधीन नरहून्!
तसर्थ हे स्त्री! मास्तिर होइन हिंड तलतिर हेरेर’
‘हे इन्द्र! तिमीले वृत्तलाई फ्याँकिदियौ बाणले मारेर।’
हिरण्यस्तूप ऋषिले गाए –
‘हे अग्नि! आफ्नो पक्षको दुराचारीलाई पनि
घोर युद्धमा बचाएर
तिमी विपक्षी बहुसङ्ख्यक शत्रुको बध गर्छौ।’
गौतमपुत्र नोधा ऋषि गाउँछन् –
‘हे प्रजाका रक्षक, धनका स्वामी अग्नि।
हामी गौतमवंशी तिम्रो प्रशंसा गर्छौ।’
सव्यऋषि स्तुति गान गर्छन् –
‘हे शत्रुलाई रुवाउने इन्द्र!
तिमीसित धेरै धन छ।’
कस्तो पाशविक सत्य!
कस्तो जान्नु!
कस्तो वद!
कस्तो साधारणता!
कस्तो शुद्ध बालको विश्वास!–
पराशर ऋषि गाउँछन् –
‘हे अग्नि! तिमीद्वारा सुरक्षित भएर
हाम्रा घोडाले शत्रुका घोडालाई
हाम्रा वीरले शत्रुका वीरलाई
हाम्रा नेताले शत्रुका नेतालाई
अवश्य पराजित गर्नेछन्’
कुतकुती लाउँदै अनि कुत्स ऋषि गाउँछन् –
‘हे रुद्र! हामीमा बूढालाई नमार,
युवकलाई र बढालु बालकलाई नमार,
हाम्रा पितामातालाई नमार,
क्रोधले हाम्रा वीरलाई नमार!’
यूनानका होमर आफ्नो काव्यलाई
कस्तो चम्किलो दृश्यले सिंगार्दछन्,
असहाय पस्रेका हेक्टर भन्दछन् –
‘याकिलिज, तिम्रो आत्मा छोई, तिम्रो पाउ छोई
तिम्रा पितामाताको शिर छोई
म प्रार्थना गर्छु –
मेरो लाशलाई यूनानी कुकुरहरूले लुछ्न नपाऊन्।’
याकिलिज स्फूर्तिले भन्दछन् –
‘नीच कुकुर! तँ घुँडा नटेक्,
मेरो अगिल्तिर बाबुआमाको फतफत नगर्,
मेरो घृणा उकासिदिएर।
छ्यापछ्याप पारिदिएको तेरो मासु
आफै लुछ्तै खान मलाई बाधित नपार्।’
अनि हेक्टरको गोलीगाँठानेर
ढोडनसामा प्वाल पारी
छालाको डोरीले रथमा बाँधी
टाउको भूइँमा लत्रने गरी घिसार्दै
याकिलिजले घोडा बढाए।
आफ्नै कपाल लुछी हेक्टरकी आमा
चिच्याउन लागिन्,
उनका पिता कराई रुन लागे,
दु:खले बटारिएको चीत्कार सबैतिरबाट
यसरी निस्क्यो मानुँ राजप्रासाद
भित्रभित्रै भुतभुते आगामा सब सल्किरहेछ।
हृदय विदीर्ण भएकी हेकुवा
हेक्टरकी स्त्री आएर
विलाप गर्दछिन् –
‘ट्रायनिवासी साराले प्रियतम! तिमीलाई
ईश्वरलाई झैँ पूजा गर्थे,
ऐले दैवले यस्तो पार्यो्।’
वाल्मीकि कवि रामायण काव्यमा
मन्दोदरीको विलाप लेख्तछन् –
‘राजा रावण मेरा पति हुन्,
दानवराज मय मेरा पिता हुन्
इन्द्रजित मेरो छोरो भन्ने
मलाई अभिमान थियो,
अहिले रामको वाणले गर्दा
मेरा राजा रावणको मुख
रगत बोसो र रथको धूलोको
हिलोमा मुछिएको छ,
टाउको फुट्नाले गिदीसित छाला
बाहिर लत्किरहेको छ।’
भीमसेनले दु:शासनको घोक्रो निमोठी रगत पिए,
भीमको पक्षमा आत्मावादी गीता गाउने कृष्ण थिए,
‘आत्मा काटेर काटिदैन’ भन्ने सम्झिदिनासाथै
भाइलाई मारेर खोसेको रक्तरञ्जित राज्यलाई
लक्ष्मीपति रुक्मिणीपति करोडपतिको
आशीर्वाद मिलेको थियो।

क्रमश: अगाडि