भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग ११ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

स्वास्नीमान्छे!
दुई हजार एघार सालकी
परमसुन्दरी रानी,
तँलाई त थाहा छ,
तँलाई थाहा नभए पनि
तेरो थाहा पाइरहे जस्तो
आँखालाई थाहा छ,
मेरो आँखाको ऐनामा पारदर्शक
तेरो त्यो आँखा टाँसिन्छ,
अनि जति हेरे पनि
कणकणमा त्यै हुन्छ!
तैँले रुखलाई हेरिस् भने
रुखका पातपातमा
तेरा चित्रहरू छापिन्छन्,
तेरा आँखा पुष्प बनीकन
रुखका हागा ढाक्छन्,
अनि रुख निहुरी–निहुरी रुन्छ,–
उसका आँसु ढिका–ढिका भै फल फल्छन्,
तेरा आँखाका सौन्दर्य
तिनमा माधुर्य भै घुस्छन्।
तेरा टन्केर ढल्केका
माथिल्लो कन्दर्पधनुष,
र तल्लो दुई खण्डे ओठमा
तैँले टाँसी बन्द गरुञ्जेल
अव्यक्त प्रेम पाकिरहन्छ,
तैँले खोलिदिएपछि
के हुन्छ तँलाई थाहा छ।
के हुन्छ, भनूँ?
दन्तपङ्क्तिको बीचमा परी
समस्त विश्वको घाँटी अँट्ठिन्छ
त्यो चल्दा मुटुकलेजा सब
पेलिँदै कविता चुहाउँछन्।
परन्तु
तेरो छिटको फरिया
धूलो जालो–बुनाझैँ धुस्रो
लुँडिएको अति मैलो छ,
तेलले कटकटिएको कालो चोलो
धुलोको फाहा घसिँदा–घसिँदा
सेतो–सेतो भएको छ ,
आगोझैँ राता डम्ठे चुरालाई
पानीझैँ चाँदीका बालाले
निभाई फुस्र्याीएका छन्,
तिनको जुधाइमा मिचिएका
बाहुला झुत्रिएका छन्,
तेरा पिँडौला फुटेका फुस्रा
दाना–दाना परी बोक्रा चर्केका कलिला रुखका फेदझैँ छन्,
खुट्टा माटाका डल्लाझैँ छन्,
समाजको लज्जाका अङ्कित सङ्ख्या
तरा हत्केलामा काला
पचासौँ रेखा देखिन्छन्,
भित्र डढेको क्रान्तिजस्तै
तेरा नङ पनि नीला छन्।