भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग २३ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

‘अब हाम्रो प्रायश्चित्त–
कसले शासित हुनु नपरोस्,
न शासन कसैले गर्नुपरोस्,
न कतै बार होस्,
न कतै द्वार होस्,
न कसैको जित होस्,
न कसैको हार होस्!
संसारभरका मानिस एक हून्,
पृथ्वी सबैको साझा धन होऊन्
एकको निमित्त सबै होऊन्
सबको निमित्त एक होओस्,
कोही कसैबाट ननाघियोस्,
कुनै सज्जनविशेषले
सेवा गरुञ्जेल सब चुप लागून्,
जब त्यो प्रभुता झिक्न खोज्दछ
त्यसलाई जगत् हाहा गरोस्।
मानिस जन्मँदा मानिसै हुन्छ,
तर शक्ति र ऐश्वर्यभित्र जिस्किँदा
ऊ बौलाहा पनि बन्छ,
सामाजिक दारिद्रयले
चिमोटिँदा
ऊ राक्षस पनि हुन्छ,
लाखौँ–लाखौँमा एकात्मा
परिस्थितिको अग्निपरीक्षामा
पनि उत्तीर्ण भएर
महामानव अथवा महात्मा
अथवा द्यौता बन्छ,
प्रकृतिनियमको अचम्मको
नियमित आकस्मिकताले
दुई टाउके छ औँले मानिस
जन्मेजस्तै कोही त्यस्तै
काम क्रोध लोभादि गुणको
मात्रा ज्यादै थोरै भएको
जन्मोस् नजन्मोस्,
त्यस्तालाई प्रदर्शित गर्दै
रहस्यवादको दीप उकास्तै
देख तमाशा भन्दै चटक
देखाउने प्रयोजन छैन,–
हामी व्यक्तिगत पूजा चाहन्नौँ,
हामी त्यो आडम्बर चाहन्नौँ,–
हामी बौलाहा चाहन्नौँ,–
हामी राक्षस चाहन्नौँ,
हामी मानिस चाहन्छौँ।
पथदर्शक मानवप्रेम बनोस्!
चर्चाले सबमा ज्ञान बढोस्!
यसको लागि समाज योग्य होस्,
सत्य र दृढप्रतिज्ञ बनोस्!
केवल देखिदिए पुग्छ,
सधैँ देखिरहने आँखालाई अझ अलिकति उघारेर
केवल हेरिदिए पुग्छ,–
परार्थतामा परार्थता हेरोस्!
यसको निम्ति बलिदान हुने
स्वभाव प्रत्येकले लेओस्!
यो गराई छोड्नालाई
मरिमेट्ने मरिमेटिने
प्रेमोद्गार सबमा उब्जोस्!
कुलत फालिदिए यो हुन्छ,
हामी तपस्या चाहन्नौँ!
कुशिक्षा नाश भए यो हुन्छ,
हामी शिक्षा बरु चाहन्नौँ!
अन्धकार हटिदिए पुग्छ,
हामी सूर्य बरु चाहन्नौँ
यो भावना लामो बिरामी होला,
तर मर्न कहिल्यै सक्तैन,
आज कठिन झैँ देखिन्छ तापनि
मानसमेघ सब पन्छिएको
निर्मल आकाशसमानको
एकताको आधारमा
एक दिन हामी सफल हुन्छौँ,
संसार त्यतैतिर गइरहेछ।
हामी सङ्ग्रामसित त्यति डराउँदैनौँ
जति अधीनतासित डराउँछौँ!
हामी मृत्युसित डराउँदैनौँ,
हामी बन्धनसित डराउँछौँ।
त्यही मानवता ल्याउनालाई
मानव उठीकन अग्नि बनोस्,
मानवताको पालनलाई
मानव बसीकन पानी बनोस्!
आगाले निभी पानीले ताती
एक दिन अवश्य मिल्नैपर्छ,
गिर्नेले उभिई उठ्नेले झुकी
परस्पर म्वाइँ साट्नैपर्छ,
दुई दिनपछि गाल्नुपर्ने अभिमान
आज सम्मानमा ढाल्नैपर्छ!
श्रद्धा भक्ति दया ज्ञानको
आमुल सत्यनाश भएको
केवल मात्र प्रेमको राज
भएको हामी चाहन्छौँ!–
भने आज आत्मसाक्षी राखी
प्रतिज्ञा सबले गर्नै पर्छ!’
सारा तारस्वरले चिच्याए–
‘हामी प्रतिज्ञा गर्छौँ!’
जङ्गली सरासर लम्केर गयो,
लाम्पुछ्रे ताराका पुच्छरझैँ
केही मानिस उसको पछि लागे
तर कसैले उसलाई भेटेनन्।
हिमालयले रगत सोहोरी
शरीर सब रातै पार्यो्,
चन्द्रमाले जून
खत्याई–खत्याई त्यो धोइदियो,
ताराहरूले माला गाँथी
आकाशमा झुण्डयाइदिए,
त्यसमा आङ्खनो शिर छिराई
वायु सुगन्धित स्वच्छ बन्यो।