भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग ६ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

फेरि आगाको लप्का उठ्तै
उठ्तै–उठ्तै हिटलर बन्यो,
बिटोफेनको सिम्फनीले त्यसैलाई फुक्यो,
निट्ज्सेको मसान फेरि जाग्यो,
भाग्नरले रचेको सङ्गीत–
सिग्फ्रिडको मलामी बाजा
नभमण्डलमा रुमल्लियो।
हिट्लरले भाले मुठी कसे,
समस्त संसार हल्लियो।
धूमपटमा द्वितीय महायुद्धको
बोलचालचित्र प्रदर्शित भो,
गोलागोलीहरू फुट्तै
खाँदिएको शब्दसङ्ग्रहले
आकाश नै चर्कायो,
बिजुलीका पचासौं धाँजा परे,
रगत वर्षा भयो!
एउटा आधा सुकेका थोपा
भारतवर्षका गान्धी
बुद्ध र क्राइष्टले जस्तै
‘सत्य, अहिंसा’ फलाक्न लागे।
तर बुद्ध सिकाउँछन्–
‘मलाई कुट्यो, मलाई गाली गर्योु
भन्ने विचार छोडिदिए
मनमा शान्ति हुन्छ।’
‘रागसमानको आगो अर्को छैन ,
तसर्थ मनुष्यले
एकान्तवासको रसपान गरोस्
लोभीलाई दानले जितोस्.!
अक्कोधेन जिते कोधं
ब्राह्मणलाई पनि धिक्कार छ ,
कुट्यो भनेर रिसाउने
ब्राह्मणलाई पनि धिक्कार छ।’
‘पुण्य र पापबाट मुक्त होऊ,
तृष्णा छोड, आशा छोड,
कामना छोड, आसक्ति छोड,
स्नेहलाई उखेल,
शान्तिमार्ग निर्वाणको आश्रय लेऊ।’
क्राइष्ट सिकाउँछन्–
‘खेदो गर्ने शत्रुलाई पनि प्रेम गर।
तिम्रो दायाँ गालामा कसैले हिर्काए
अर्को गाला फर्काइदेऊ।’
‘तिमीसित जे–जति छ
त्यो बेचेर गरीबलाई देऊ,
अनि स्वर्गमा ऐश्वर्य पाउनेछौ।’
‘धनीलाई
ईश्वरको राज्यमा छिर्नुभन्दा
बरु ऊँटलाई सियोको प्वालमा
छिर्न सजिलो होला!’
‘म तिमीहरूलाई भेडा बनाई
ती हुँडारको बीचमा पठाउँछु,
तसर्थ सर्पझैँ बुद्धिमान् बन,
ढुकुरझैँ हानिरहित बन।’
यस्ता पलायनवादमा–
आफूलाई आफैँ थिची–मिची
आफ्नो अस्तित्व मेटिदिने
दुवै प्रभुका साम्यवादमा
गान्धीले विश्वास गरेनन्।
गान्धीको पनि साम्यवाद हो,
तर त्यो जिद्दीको साम्यवाद :
हतियार उठाउने कामै छैन,
हाम्रो सत्याग्रहमा रगेडिंदा
तिनका धार त्यसै मर्छन्,
हामीले सद्व्यवहार गरे
नाक भूईँमा रगेडेर
अर्कोले पनि गर्नैपर्छ,
आज नगरोस् भोलि नगरोस्,
पर्सिसमेत नगरोस्,
कुनै दिन नगरोस्,
तर अन्तिम दिनको
अन्तिम घडीमा गर्नैपर्छ,
त्यसैले साम्यवाद साध्य भए
साधन पनि साम्य हुनैपर्छ।
आदर्शवादी गान्धीको अनुसार
युटोपिया बन्नैपर्छ,–
मन्दिर मस्जिद दुवै उभिउन्,
कुरान पुरान दुवै पढिउन्,
स्वर्ग जहन्नत दुवै भरिउन्,
नरक जहन्नम दुवै पुजिउन्,
तर
हिन्दू मुसल्मान एक बनून्!
हिंस्रकसित हिंसावादीसित
असहयोग आन्दोलन गरी
अहिंसात्मक ढाल लिई
वीरत्वले लड्नैपर्छ,
फेरि फेरि फेरि बजारिँदै
छालाले चट्टान फोड्नुपर्छ,
आशाविरुद्ध आशावादी भई
मनु्ष्य मात्रले मर्नुपर्छ।
मर्यो्!
यो गान्धीवाद
गान्धीसितै मर्योद।