भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आगो र पानी / पछिको / भाग ८ / बालकृष्ण सम
Kavita Kosh से
अस्तित्वको नाममा सङ्घर्ष उठ्छ,
त्यो स्वार्थपूर्तिको काममा लाग्छ।
अशक्तको हात रित्तो हुन्छ,
शक्तिमानको हातमा चाहिँ
ज्यान मारेको रगत जम्छ।
नजान्ने अन्धविश्वास गर्छ ,
जान्ने स्वार्थमा अल्झेर
तदनुकूल झूटो तर्क झिक्छ।
सज्जन अनुमानले कल्पना बुन्छ,
दुर्जन प्रत्यक्ष डाँका मार्छ।
हुने सुरक्षाको पक्षमा बोल्छ,
नहुने शून्य वितरणमा चल्छ।
धनी बमगोला छाम्छ,
नङ्गा बमभोला भन्छ।
कोरियाको रणक्षेत्रमा
बल जाँच सिद्धिनासाथै
फर्मोसामा बुद्धिचालका
गोटी टेढो घर चल्छन्।
इलेक्ट्रनको ताँदो तानिँदै पृथ्वी फन्का मार्छ,
फोटनको वाण तिखारिन्छ,
वातावरण अवाक् हुन्छ।