भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग ९ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बालाज्यूको बाटामा
सडकको बीच–बीचमा
वर्षाको पानीले गर्दा
सानो संसार यस नेपालमा बनेको
माटाको सानो नेपालजस्तै
साना–साना डाँडाकाँडा
पुतली झरना पुतली खोला
स्वयं बन्न गएका छन् ,
त्यसैले त्यहाँ नागबेली पर्दै
फट्को मार्दै हिँड्नुपर्छ।
डाँडाको टुप्पा–टुप्पा माथि
तेञ्जिङ बन्दै अडिनुपर्छ।
त्यस्तो बाटाको वरिपरि यताउति
केही भत्केका लच्केका
ढल्किएका घरहरू छन्,
कुनै पुरानो पराले छाना
थाकेको बूढोजस्तै
एक तलामा थ्याच्च बसीकन
बेनिम्तामा आउने कालको
बाटो हेरिरहेको छ,
कुनै झिङटीको छाना
पक्षपात भएजस्तै गरी
एक हर बसालो मुख बङ्ग्याई
मूर्छा परिरहेको छ।
त्यस्तै घरका पनि तला–तलामा
सुत्केरीका डेरा छन्।
भ्यानडाइक खैरो, प्रशियन हरियो र इन्डिगो,
कैलो म्याडर र पहेंलो ओकर रङको
नालनिकास जमेनेरै
केटाकेटीहरूले गरेको
फोहोरको माझमाझीमा
सुत्केरी
सुकुलका लिप्टामा बसी
आफैँले तेल घसी–घसी
घाममा टल्केका आङ सेकाई
विवशताले मनलाई कुतकुती लगाई
आधा हाँसिरहेका छन्।
सिंघान नाकमा लुर्काएका
नाङ्गा भुतुङ्गा बालकहरू मिली
बालुवा र ईँटको धूलो जम्मा पारी
गिरिबान्कीका साना–ठूला धेरै
गिरीशका लिङ्गहरू बनाई
तिनका घुमाउरा जलहरीमा
मुत्तै खेलिरहेका छन्।
त्यहीँनेर दुईटा कुकुर
गाँठो परिरहेका छन्।
मोटो रुखको ठुटामाथि अग्लो भई
एउटा सप्रेको रङ्गीचङ्गी
ठूलो कुखुराको भाले
आगोजस्ता आँखा पारी
रातो सिउर लप्काउँदै
नेतृत्व गर्न खोजेजस्तै
गरी बसिरहेको छ,
गद्गद् स्वर झिक्तै कुखुराहरू
साह्रा चुच्चा परेका ओठले थलथले
सर्वत्र खोस्रिरहेका छन्।