भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आजको रात सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु / पाब्लो नेरूदा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आजको रात
म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु।
 
जस्तो- “रात भाँच्चिएको छ
र दिगन्तका ताराहरू थरथर कामेर नीला भएका छन्”
 
रातको यो बतास गुनगुनाउँदै बराल्लिएर हिँडिरहेछ।
 
आजको रात, म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु।
म उनलाई माया गर्थेँ, र
ऊ पनि कहिले काहीँ मलाई माया गर्ने गर्थिन्‌।
 
यस्तै रातहरूमा मैले उनलाई आफ्नो अँगालामा बेरेको थिएँ
अनन्त आकाशमुनि मैले उनलाई कयौँ पटक चुमेको थिएँ।

ऊ मलाई माया गर्थिन्‌,
म पनि कहिले काहीँ उनलाई माया गर्ने गर्थेँ।
उनका ती सुन्दर निश्चल आँखालाई
माया नगरी कसरी रहन सक्थेँ र म?

आजको रात म सर्वाधिक दु:खद पङ्क्ति लेख्न सक्छु
उनी मसँग छैनन्‌ भनेर,
मैले उनलाई गुमाएको अनुभव गर्न।
 
यो कष्टकर रातभरि, उनी बिनाको यो कष्टतम्‌ रातभरि
दुबोमा शीत पोखिएझैँ
पोखिन्छन्‌ शब्दहरू हृदयभरि।
 
मैले उनलाई अँगाल्न नसक्नुले के अर्थ राख्छ?
यो रात भाँच्चिएको छ, र उनी यसबेला मसँग छैनन्‌
 
नियति यही नै हो, टाढा, धेरै टाढा कतै कसैले गाउँदैछ।
आफूले उनलाई गुमाएकोमा खुशी छैन मेरो हृदय।
 
तै पनि मेरो हेराइ उनीसम्म पुग्न चाहन्छ,
उनैलाई खोजिरहन्छ
मेरो हृदय उनको बाटो हेरिरहन्छ, उनी मसँग छैनन्‌।
 
उही रात उही रुखहरूलाई उजिल्याइरहेछ।
हामी,
त्यसबेलाका हामी, अहिले उस्तै रहेनौँ।

म अब उनलाई माया गर्दिनँ भन्ने पक्का छ
तै पनि मैले उनलाई कसरी माया गरेँ!
मेरो स्वर उनीसम्म पुग्ने मन्द बतासको खोजीमा छ।
 
अर्कैकी, उनी अर्कैकी हुने छिन्
जसरी पहिले उनी मेरा चुम्बन थिइन्
उनको बोली, उनको सुन्दर शरीर, उनका अप्रतिम आँखा।

म उनलाई माया गर्दिनँ भन्ने पक्का छ,
तै पनि कतै म उनलाई अझै पो माया गर्छु कि?
प्रेम छोटो हुन्छ, बिर्साइ अनन्त लामो।
 
मैले यस्तै रातहरूमा उनलाई अँगालामा बेरेकोले
उनलाई गुमाएकोमा खुशी छैन मेरो हृदय।
 
उनले मलाई पिरोल्न सक्ने अन्तिम हरफ यिनै हुन्‌

मैले उनका लागि लेख्ने अन्तिम पङ्क्ति पनि यिनै हुन्‌।