भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आज राति / जसराज किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

वैशाखमा ओभरकोट ओढेर
आलो घाम,
मरुभूमिको यात्राबाट
आज राति मेरो कोठाभित्र वास खोज्न आइपुग्दै छ ।

आ, कत्रो अत्यास लागेको मलाई
सम्पूर्ण आकाश मध्यराततिर नाङ्गिएर ऐठन गर्न आउँछ
प्यारा प्यारा सम्झनाहरु
र मीठा सपनाहरु
अङ्गालोबाट उम्किन्छन्
भागे तिनीहरु मर्ला निहत्था ठानेर
भित्ता, कोठा
वास्तवमा मेरो कङ्काल राष्ट्र
तकियाको चिहानमाथि पराजित मल्लकालीन साँझ जस्तै धूर्त हुन्छ
मानौँें – मेरो बोधिसत्व
कम्बलले मुख छोपेर ह्वाँ…ह्वाँ…रुन्छ ।

एउटा सानो न्यानो संसार
काखीमुनी च्यापेर
एकरात निदानउनसम्म नपाउनु सायद श्रापित सिसिपस
आज म भित्र वास बस्न आउँदै छ
सायद मैले कुनै ढुङ्गा हैन
खुद आप्mनै लास बोकेको छु
अफसोस, शिवको पिठ्यूँ मसँग छैन
म यो अँध्यारोमा देशान्तरको यात्रा कसरी प्रारम्भ गरुँ ?
कुहेर फतफत खसेको लासको प्रत्येक चोक्टामा
खोई मैले कस्तो पिठ निर्माण गरुँ ?

अँध्यारोनेर
कोही यतिबेला झुण्डेर मर्दैछ भने उसले मेरो अभिनय गरिरहेछ
ठीक मेरो आकृतिमा
म जस्तै……
अफसोस, यतातिर म फाँसी जत्रै एकक्षण बाँचेको छु ।

आकाश रङ्गको मृत्यु
आँखामा अटी नअटी
शायद नियात्रामा आज राति म कहाँ आउनेवाला छ
झ्यालको खापा अलिकता खोलेर
उसको भयावह आकृति
मैले हेर्नु छ –
म भाग्न सक्तिनँ
अलिकता शीवी राजाको नलीहाड आफ्नो पासुलाबाट काटेर
ओठमा राखिदिन्छु
त्यसो त आफ्नो मासुको माया लाग्छ नै
यद्यपि आफ्नै मासुको गन्ध
मलाई त्यति मीठो लाग्दैन
लाग्छ – यो सिनो भै सकेको छ
स्वास आफैमा पिरो धुवाँ दुख्छ
आगो फुकेर ह्वारह्वार्ती
अगेनाको डिलमा स्वास्नी त्यसै झोक्राएकी छे
सायद लोग्नेको मासु उनलाई पनि मीठो लाग्दैन
वास्तवमा कुहेको मासु धेरैलाई मन पर्दैन
उफ ! यो सिङ्गो लास
त्यो पनि जिउँदो मासुको
ह्वास्स गन्हाउँछ
नाक थुनेर मृत्युको नजिकै पल्टिन्छु
आज राति ।

ओ ! आफू सल्किदै जल्दै गरेको यो विभत्स क्षणमा
मलाई बिङ्नै प्यास लागेको छ
सिङ्गै एउटा नदीभित्र डुबेर
तिर्खा मेटिन्जेल पानी पिउन पाए पनि हुन्थ्यो
एकक्षण
शीतल छातीमा हात राखेर जिउन पाए पनि हुन्थ्यो
ओ नदीको पानी !
ओ सङलो पानी !!
खोई,
खोई !
नदी कता छ ?
कहाँ छ पिउन हुने बगेको सङलो पानी ?
लौन, कसले खायो बग्दै गरेको नदीलाई ?
किन रगताम्य पारेको नदीको पानीलाई ?
उफ, आकाश पनि
आफै झुण्डेर मरेको बेला
म कसलाई अलिकति सियाँल मागूँ ।
खोई, कता सियाँल खोजूँ ?
ओ वायु पुत्र
यो बल्दै गरेको आगो शरीर बोकेर
म कुन समुद्रमा डुबूँ ?
चोखो समुद्र कता छ ?
म सङलो समुद्रमा डुबेर मर्न चाहन्छु ।