भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आत्मकथामा — स्वर्गीय हिमाल / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छोपिँदामात्र लाज बाँच्तो रहेछ ।
अस्पष्टतामा लाज लाग्दो रहेछ ।
सर्वाङ्ग नाङ्गिदा अश्लीलता बाँच्दोरहेछ ,
लाज मर्दोरहेछ ।

म त्यही लाजको लास झैं
मरेको इतिहास झै
उभिरहेछु अश्लीलताको चुचुरो
चट्टानका पहरामा घुँडा टेकेर एक्लै ।

उष्णता सल्केर जवानी लत्रिएको बेला
सफेद आवरण उदाङ्गिएर लाज बगेको बेला
सम्झनाको काखीमा इतिहास सिउरिएर
रोइरहेछन् आस्थाका बन्द ढोकाहरू
चिहानका छातीमा घुँडा टेकेर एक्लै ।

आगो रापिए तापिँदो रहेछ ताप ।
हिउँ रापिए नासिँदो रहेछ ताप ।
कसैलाई जीवन्त गराउन ,
कसैको जीवन अन्त गराउन,
क्याटालिष्ट बन्दोरहेछ ताप ।
मानव उत्सर्जित रापले तप्तपाउँदै
आरुबखडा झैं खुलेका मुस्कानहरू रित्याएर
अचेतन आस्थामा बाँचिरहेछु चुचुरो,
डढेलो पछिको भिर चुसेर एक्लै ।

अँगालोमा कुहिरोले बेरेर चुमेझैं मलाई
चुम्थे मेरा स्वेत बदन मान्छेका हुलहरूले,
क्यामेराका लेन्सहरूले,
सुवास छरेर हरपल ।
तर अफसोस ! मेरा पोखिएका आँसुहरू
चुम्छ केवल राप सिउरिएका त्रासले आज,
छुन्छ केबल लू भिरेका श्वासले आज ।

नबर्षाए मान्छेले वाफिला वर्षाहरू
भरिन्थें म आफैँ
गुथेर सिर्जनाका फूलहरू ।
फैलाएर मानवताकै सुवासहरू
छरिन्थे म अनगिन्ती राहतका गुलाब बनेर ।
चुसेर शीतका सिरेटा पनि आफैं
पैराउथेँ उपहार ‘स्वर्गको धर्ती’ उसलाई
तर पर्खिरहेछु अनन्त आँसु भोग्दै
चेत जगाउन अस्तित्वको
चट्टानका पहरामा घुँडा टेकेर एक्लै ।