भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आदाङ्मे / राज माङ्लाक

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


त्यसबेला – आदाङ्मे !

याक्साभित्र पनि भित्ताभित्तामा
हजुर नै भनेर कसकसको तस्विर टाँगिदिएँ
र फूलदानको यौटा हाँस्दा हाँस्दैको फूलसँग
चल्दा चल्दैको मुटु पठाइदिएँ
घुम्ती, कुइनेटाहरु र देउराली हुँदै
याद होला नि !

कस्तरी सजाएर राखेको स्वप्नफूल
हजुरको मात्र भनेर
यौटा खामबन्दीभित्र कैद थियो ।

आदाङ्मे !
हजुरको अधिकारले फनफनी बाँधिएको
यौटा सानो टुक्रा कागजमा
कोक्लिबुङ मेलाको भेट
फुङ्सेङ भर्दाको अविस्मरणीय क्षण
धान नाच्दा, औंला चिमोट्नु भा'को माया
दाजुको बिहेमा स्यौले डेरामुनिको न्यानो गफ
च्याब्रुङ नाच्दा नाच्दै खुट्टाले लागिगएर
एक बोत्तल रक्सी बराबरको माफी
के के मात्र लेखेको थिइन र !

त्यहाँ थिए –
आफ्नै दाजुको दुरानमा
उत्तानो सुँगुरको, थुतुनोको फूल हजुरलाई दिएको प्रेम
मेजमान खाँदाखाँदै
अकबरे पोलिदिएर सर्किएको खुङ्खार मज्जा
तोङ्बामा जबरजस्ती रक्सी मिसाइदिएको कोक्टेल मन
फर्किदा रक्सी भनेर एक गाग्री पानी
बेत्तालमा बोकेको वेस्वादिलो स्वाद
र, राति अबेरसम्म
सिरक तानेर सुत्नै नदिएको मीठो प्रसङ्ग
के के निर्मम यादहरु थिए त्यहाँ ।

एक दिन –
टुक्रे हाटमा पसल थापेर बस्नुहुँदा
हजुरसँग हाँस्दा हाँस्दै
एक डबुको जाँडमा कस्तरी तुरुक्क सिँगान खसाइस्यो
तर हजुरको मायासँगै मैले पिइदिएको अघोर माया
सतासी मेलामा अर्कैसँग धान नाच्दा
कस्तरी ठुस्किएर अर्कैलाई अङ्गालो मारेको स्वादिलो मजाक
पञ्चमी बजारमा दि'सिएको स्नेहमय जाले रुमाल
गाउँबुने टाटनले छोपेको क्यासेट
र त्यसमा बजेका रामनवमी मेलाका गीतहरु
सबै सबै त्यहीँ थिए ।

थिए त्यहाँ –
लिबिन्स्कीका सम्पूर्ण सपनाहरु
मायावतीका व्यग्र चाहनाहरु
हजुरलाई भनेर सम्हालेर राखेको अटोग्राफको कथा
जिब्रोको टुप्पामा अडिएको मायालु गफको इतिवृत्त

जानी नजानी हजुरको वर्णन गरेका कलकलाउँदा अक्षरहरु
बेंसीका धानबाली जस्ता लहलहाउँदा मुस्कानहरुको फेहरिस्त
कसो कसो लजाएर
दुई हातले छोपेको अर्धचन्द्र अनुहारको सम्झना
ढुङ्ग्री, मुन्द्री र सिरफूलका उज्याला चन्द्रसूर्यहरु
लिम्बुनी पाराले बोलेका निर्दोष ढुङ्गा जस्ता शब्दहरु

र त्यहाँ थियो –
मेरो चल्दा चल्दैको धड्कन
र हजुरको सयमिटर दौड बराबरको बैंसको कविता पनि

तर, अफसोस
हुलाकीले –
त्यहाँसम्म ल्याउनै सकेनछ, त्यो

आदाङ्मे !
यहीँबाट
हाम्रो किनारा सुरु भयो होला ।