आदिम सौन्दर्यको ल्यान्डस्केप / मनप्रसाद सुब्बा
तुवाँलोको अर्द्धपारदर्शी लुगासमेत नलाएको
छ्याङ्ग उघ्रेको
उदाङ्गो
अनि हिपोक्रिट लाजहरूलाई जितेर
निक्खुर नाङ्गोपन फक्रेको आदिम सौन्दर्य
एक निर्दोष
र अबोध ल्यान्डस्केप
त्यो प्रेममय देहको मुलुक
जसको एक्लो नागरिक म
तर एक्लोपनको कैदबाट मुक्त
स्वतन्त्र नागरिक म
तर सार्त्रेको श्रापित स्वतन्त्र मान्छे होइन
न त तन्त्र खुस्केको अराजक नै
तिम्रो आदिम मुलुकको राष्ट्रिय गीत गाउँदै
डुल्छु म ओँठहरूको खुट्टाले हिँडेर
अनि सुन्छु –
तिम्रो देहको छिद्र-छिद्रबाट
उर्वर धरतीले सास फेरेको
यस क्षण
मलिलो माटोको मीट्ठो गन्धले
माटोको मासुमा कविता लेख्दैछ
आह !
म त तिमीसितै एकाकार भइसकेछु नि !
भोलि एकाबिहानै हेर्नू
कि यो प्रेमको निशानी
पूर्वमा देखा पर्नेछ यौटा गुलाफी नवजात बिहानी !