आधार-शिविर / रमेश क्षितिज
एकान्तले पनि
एकान्तमा बस्न दिँदैन अचेल
चिच्याइरहन्छ, नपर्खे हुन्छ
निठुरी त्यो परदेशीलाई नपर्खे हुन्छ ।
कराउँदोरहेछ एकान्त
भीर पाखामा प्रतिध्वनित भएर ।
कोही नसुस्ताउने छाया भएर
किन अझै पर्खिरहेको छु एक्लै
हिमनदीको किनारमा
डुङ्गा डुबाएर घर फर्केको माझीका
नियास्रा नियास्रा साँझजस्ता क्षणहरू भोगेर
खोलापारिको गाउँबाट
हावाको घोडा चढेर आउँछन् विश्रृङ्खलित बाँसुरीका धुनहरू
र उसैगरी कठाङ्ग्रिने बनाइरहन्छ अङ्ग–प्रत्यङ्ग
सम्झनाको हिमपातले ।
खै, मैले बिदाइको हात
हल्लाउन नपाउँदै कसरी छुटेछ समयको रेल
छातीलाई सुरुङ् बनाएर
कतिखेर बर्सेछ असारको पन्ध्र यसरी
र मेटाएछ
कुइनेटोमा छोडिएका जोडी पाइलाका पदचिन्हहरू
त्यो पहाडको रगतजस्तो बग्दै गरेको रातोमाटोमा
कति खोजौं म सारा दिन
हराएको कुनै पुरानो तस्बिरजस्तो
शिखर चढ्ने सम्भावना ?
शिविर सार्नुअघि झिसमिसेमा
जान्छु है सम्म नभनी जाने निर्दयी त्यो परदेशीलाई
एकैक्षणका लागि
म बनाइदिने भए ईश्वरले
थाहा हुन्थ्यो–
नदीको भत्किरहने किनारजस्तो मुटु लिएर
हावामा उडिरहने पातजस्तो मन लिएर
निरर्थक कसैलाई कुरिरहनु
कति कष्टकर हुन्छ
अनि कति बिझाउने हुन्छ
आफैलाई निरीह निरीह रित्तो सम्झेर बाँच्नु !
एकान्तले पनि
एकान्तमा बस्न दिँदैन अचेल
चिच्याइरहन्छ–नपर्खे हुन्छ
निठुरी त्यो परदेशीलाई नपर्खे हुन्छ ।