सूर्यजस्तै ठूलो रातो टीका 
निधारमा लगाउँदा
मेरी आमा साह्रै राम्री देखिनुहुन्थ्यो 
संसारकै सबभन्दा तेजस्वी स्वास्नीमानिस 
तर बुबा बित्नुभएपछि 
आमाले रातो टीका लगाउन छोड्नुभयो 
बिना टीका मलिन देखिन्छ आमाको अनुहार ।
जब–जब गोधूलिको बेला
निधारमा सूर्यको रातो टीका लगाएको 
आकाशलाई देख्छु
म आमालाई सम्झन्छु । 
रातो टीका लगाएको 
आकाश पनि राम्रो देखिन्छ 
तर आमा जत्तिको राम्रो होइन ।