आयतनमा एक टुक्रा जिन्दगी / ईश्वरवल्लभ
१, आकाशका गुम्बजहरूमा आँखाका ताराहरू,
प्रति ऐनाको छायामा प्रतिविम्बित चेहराहरू,
यी सकिएका सासका आफन्तहरू;
मेरा सपना-सपनामा बन्द छन्;
विपनालाई कोठाको एक घेरामा
ताल्चाले बाँधिराखेको छु, तैपनि ।
त्यसैले त मैले आजसम्म
धेरैधेरै पाइलाहरूलाई धरतीमा, हिँडिसकेको छु ।
२, मेरा मासुका गन्धहरूमा
आकाङ्क्षाका वासना पनि छन्,
ती हिँडिरहेका चेहेरा-चेहेरामा
जसरी सडकमा आयतन, गहिरो अँध्यारो र विस्तृति सुत्छन्
मेरा बन्द रित्ता निद्रामा-
आजभोलि धेरै कुरा आइबस्छन्
म सोचिरहेको हुन्छु
समुद्रको गहिराइमा बसेर
म हिप्पोपोटामस-
म हराइरहेको हुन्छु
रङ्गको गहिरो ओतमा पसेर-
म अभिव्यक्ति-
मलाई तिम्रा हरेक आँखाले खान्छन्
तथापि हिजो सकिएको म,
हिजो जहाँ म बसेको छु
त्यही बासमा आज
फेरि अग्लिएर झन् उभिएको हुन्छु ।
३, एक सागर पानीले भिजाउन नसकेका
पत्थरका देवताका अनुहारहरू
कहीँ त त्यही अनुहारहरू, एक मुट्ठी पानीमा अल्झेका छन्,
यी आशामुखी देवताहरूलाई
धेरैधेरै किताबका पन्नाहरू च्यातेर
समयले एकछेउ इतिहास लेखेको छ,
मेरो ढुङ्गाजस्तै नचल्मलाउने देवता
कथैकथा भैसकेका छन्,
म पनि भर्खरै इतिहास भैसकेको छु !