भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

इन्द्रेणीमा झुण्डिएको मन / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उहिल्यै लागेको इन्द्रेणीमा
तुर्लुङ्ग... झुण्डिरहेको छ अझैँ यो मन

आउँदै गरेका
प्रत्येक चाँडबाँडहरुसँगै आएर
उफ्रँदै नाचिरहन्छ मेरो वरीपरी– मेरै बालापन,
खेलिरहन्छ अतितको उपल्लो छेउमै पुगेर
'ए, लहरे ! हैँ पहरे' र 'लुक्नेबाजी' जस्ता खेलहरु
र, पछ्याउँछ दौडँदै
बर्सातको खोल्साको छेवैछेउ हुँदै
सपनाको डुङ्गालाई कल्पनाको पल्लोछेउसम्मै

जाँदै गरेका
प्रत्येक प्रेयसीजस्ता सालहरु
जाँदा लैजादैनन् क्यार आफूसँग कुनै पनि सम्झनाहरु
जाँदा लैजादैनन् क्यार सबै रमाइला-नरमाइला यादहरु

सम्झिएजस्तो गरेर कहिले
त नसम्झिएजस्तो गरेरै कहिले
रोइरहने
त कहिले बित्थै-बित्थैमा उल्लासित भइरहने
यो केटाकेटीजस्तो मन पनि त यतै छाडेर जाँदो हो
जो उडाइरहन्छ रहरका रङ्गीबिरङ्गी चङगाहरु बेलाबेलामा
जो दौडाइरहन्छ इच्छाका पाङ्ग्राहरु बाटाहरुमा अझैँपनि घरिघरि

उहिल्यै लागेको इन्द्रेणीमा
तुर्लुङ्ग... झुण्डिरहेको छ अझैँ यो मन