हिँडाइको लचकले छचल्काउँदै बतासलाई 
पाउजूको छमछमले ब्यूँझाउँदै निःश्तब्धतालाई 
नचाउँदै पर्दालाई चुराको सङ्गीतमा सुस्तरी 
जब पस्यौ कोठामा तिमी
मगमगाउन थाले क्यानभास र कापीहरू
छट्पटाउन थाल्यो कुची
उद्वेलित हुन लाग्यो कलम 
र उत्तेजित हुन थाले 
मेरा आँखा, हात र अरू केकेहरू । 
कोठाभरि टाँगिदियो मेरो हृदयले 
यौवनका रङजस्तै इन्द्रेणी र
जीवनका धूनजस्तै झङ्कारहरू ।
तिमी छ्यौ सामु
मेरो चेतनालाई चित्र, कविता, धून या
अरू जेसुकै बनाइदिनसक्ने सामर्थ्यका साथ।
यकिन छ, साँचो बोल्ने छैनौ यसबेला तिमी ।
निर्देशित हुनुछ मैले 
केवल तिम्रो मौनता, तिम्रा आँखा र 
तिम्रो हृदयको नसुनिने आग्रहबाट । 
 
होस गुमाउनुअघिनै सोचिभ्याउनु छ मैले,
तिम्रा लागि कुची समाऊँ या कलम
या मेरा आँखा, हात र अरू केकेले 
रचूँ तिमीमै 
एउटा अनुपम रचना ।