Last modified on 25 जुलाई 2017, at 22:21

इन्द्रेणी साँझको अवसान !! / चन्द्रवीर तुम्बापो


गोलो-गोलो मंगोलियन नाक जस्तो
यो थप्चो पिर्थिवी
अर्थात् हत्केला छिचोलेर भाग्न खोज्ने धर्साहरु
कति दोबाटा पार गरेर
भेटिएका थिए मूलबाटामा
उत्साही विगतहरु
आकाशबाट चुहिने
पहेँलो घामको अन्तिम थोप्ला अगावै
किरिङ्मिरिङ् अपुरो भाग्यरेखा जस्तो
धमिलो भङ्गालोहरुमा छलिएर
मुटु खियाउँदै बेग्लै कुलेसो बगेपछि
मोडिएका थिए विरानी यात्रामा
विक्षिप्त विगतहरु
हजारौं पाइतालाबाट निस्किएका हजारौँ बाटाहरु
पुग्नु पहिले टुङ्गिने हजारौँ अल्पायु बाटाहरु
कहाँ पुगेर च्यातिए
स्वर्णीम सम्बन्धका जिउँदो अभिलेखहरु
त्यही पैतालाबाट निस्किएका
दीर्घायू बाटाका खुड्किलाहरु टेकेर
उक्लिरहेको थिएँ म पहाड मुटुको शिरमा
उज्यालो कणले
माझेर टल्काउँदै विश्वासको गजुर
जिन्दगी भाकेको कसम
बिडम्बना !
विजय नजिक पुग्दा-पुग्दै
टाउको काटिएको पराजित विद्रोहको
असफल मुक्ति गाथा
कुन वियोगान्त उपन्यासको हरफमा
च्यापिएर रोइरहेछ यौटा कहानी
यहाँ त एक्लो उभिएको छ वर्तमान
चैतको छायाँमुनि
रित्तिइसकेको मकैथाङ्ग्रा जस्तो
उदास-उदास
र रोइरहेछ एकोहोरो वतासको सङ्गीत
ग्लुमी सन्डेको लयमा
मन मस्तिष्कबाट अलपत्र खसालेर
विरानो मानिसहरुको भीडमा एक साँझ
छाती कुल्चेर दौडदै
यहीँबाट अलप भएकी थियौ
त्यही साँझ दुःखद अवसान भएको थियो इन्द्रेणीको
बलिरहेको तिम्रो नागवेली चिसो सिउँदोमा
आँखाको छहराबाट आँसुसँगै
हाम्फालेर आत्महत्या गरेका थिए
रहरहरु कल्पनाहरु
साझा सपना बोकेर उडेको
सिङ्गो कल्पनाको यान पनि
जलेर खसेको थियो कहाली लाग्दो शून्यतामा
एतिखेर म
सपनाको कल्पनाकोरहरको चिहान अघि उभिएको छु
-रित्तो हात
-रित्तो आँखा
-रित्तो मन

मेटिँदै जाने पैतालाका डोबहरु छोडेर
मंगोलियन नाक जस्तो
थेप्चो पिर्थिवीको कुन भागमा पुग्यौ ?
नाजवाफ घुमिरहेछ विरही समय
र मेरो प्रिय किव
रुवाएर कलमको मसी आँसुले
लेखिरहेछ कविताको अन्तिम अनुच्छेद
जीवनको लामो राजमार्गमा अब
कृष्णभीर बनेर उभिका छन् तिम्रा यादहरु ।