ईश्वर नबनाएको भए / सुमन पोखरेल
हाम्रो प्रीतलाई ठट्टाजस्तो खबर नबनाएको भए
बेस हुन्थ्यो प्रेमलाई तिमीले, समर नबनाएको भए
कहाँ गएर बराल्लिन्थेँ होला म यो बेगारीपनमा
यी मान्छेले यस गाउँलाई शहर नबनाएको भए
शीशाकै मुटु दिनु थियो मलाई भने, हे ईश्वर !
तेरो के बिग्रन्थ्यो उसलाई पत्थर नबनाएको भए
फरक के नै पर्थ्यो र ! उनी रिसाउँदैमा मलाई
मैले उनलाई यदि आफ्नो ईश्वर नबनाएको भए
कति कठीन हुने थियो तिम्रो मौनतालाई बुझ्न
तिमीले ती आँखालाई त्यति मुखर नबनाएको भए
जोगाएर राख साथी यी आकाश र धरतीलाई
कहाँ जिउँथ्यौ, यो धर्ती यो सगर नबनाएको भए
तिमीलाई देखेपछि मात्र भएको हो छटपटी
मन शान्त रहने थियो यी नजर नबनाएको भए
मेरा सबै गीतहरू थर्थर थर्थर काम्ने थिए
तिनलाई मैले तिमीसँग एकै स्वर नबनाएको भए
जीवनको यो बाटो कति कठीन हुन्थ्यो होला
मेरा इच्छालाई तिमीले रहर नबनाएको भए
दुनियाँले मारिसक्यो यो जिन्दगीलाई अनेक गरी
अनेक गरी जिन्दगीलाई जब्बर नबनाएको भए
तिमी पनि हुने थिइनौ यतिबेला मेरो साथमा
प्रेम उमार्न मनलाई मैले उर्वर नबनाएको भए
प्रेमको नदी सुन्दर हुन्छ ठान्ने थिएँ बाँचुन्जेल
खुशी सबै बगाएर मनमा बगर नबनाएको भए
आफैँसँग लड्छ जिन्दगी, चोट दिन्छ आफैँलाई
के बिग्रन्थ्यो आफैँलाई जर्जर नबनाएको भए
एउटा काम त तैँले पनि राम्रो गर्या छस् सुमन !
पागल भनिन्थिस्, आफूलाई शायर नबनाएको भए