भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा कविको स्वीकारोक्ति / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म कवि हुँ र म स्वीकार गर्छु
जाडोको कविता
मैले सिरक ओडेर लेखेको हुँ !

म स्वीकार गर्छु
आँशुको कविता रक्सी पिएर लेखेको हुँ !
म स्वीकार गर्छु
टन्न अघाएको बेला
भोकको कविता लेखेको हुँ !

मनमा घृणाका असंख्य कुण्ठाहरू पालेर
प्रेमको कविता लेखेको हुँ !
छिमेकीको छानोमा पिसाब फेर्दै
सदाचारको कविता लेखेको हुँ !

म स्वीकार गर्छु
स्वार्थको उपल्लो भूभागमा उभिएर
मित्रताको कविता लेखेको हुँ !
पापको पोखरीमा चुर्लुम्म डुब्दै
धर्मको कविता लेखेको हुँ !

पतित विचारको मसीबाट
नैतिकताको कविता लेखेको हुँ !
अश्लीलताको पराकाष्ठाबाट
शालीनताको कविता लेखेको हुँ !

म स्वीकार गर्छु
राँगाको मासु चपाउँदै
अहिँसाको कविता लेखेको हुँ !
चुँडालेर फूलङ्का थुँगाहरू
सौन्दर्यको कविता लेखेको हुँ !

रुखका हाँगाहरू भाँच्दै
अबोध चराहरू लखेट्दै
प्रकृतिको कविता लेखेको हुँ !
आत्मरतिको आवेगमा
दर्शनको कविता लेखेको हुँ !

स्थिर तलाउमा ढुङ्गा हिर्काएर
शान्तिको कविता लेखेको हुँ !
म स्वीकार गर्छु
चिन्तन र विचारबाट स्खलित भएर
मैले कविता लेखेको हुँ !

भित्र भित्र विद्वेष र विभाजनको विउ रोप्दै
बाहिर बाहिर सामाजिकताको कविता लेखेको हुँ !
म स्वीकार गर्छु
न्याय विधान साक्षी राखेर
मैले अपराधीहरूको पक्षमा कविता लेखेको हुँ !

म स्वीकार गर्छु
मैले घूस खाएर भ्रष्टाचार विरुद्ध कविता लेखेको हुँ
कमिशन खाएर दलाली विरुद्ध कविता लेखेको हुँ !

कामुक कामुक शब्दहरू प्रयोग गरेर
अमूर्त अमूर्त शब्दहरू प्रयोग गरेर
क्लिष्ट क्लिष्ट शब्दहरू प्रयोग गरेर
नजाने कति वर्षदेखि -
झूट बैमानी र छलकपटको सहारामा
कविता लेख्दैछु !

म स्वीकार गर्छु
मैले विदेशीको हुण्डी खाएर
देशभक्तिको कविता लेखेको हुँ !

०००