भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा नोटको जीवनी / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु ।

यो नोटको जन्मको बारेमा
म बिल्कुल अनभिज्ञ छु ।
तर थाहा छ मलाई-
कुनै बैंकको सफा कुनाबाट
यो नोटको फोहोर यात्रा सुरू भयो ।

एक क्यासियरले
जिब्रोको थुकमा बुढी औंला चोबेर
गन्यो यो नोट
र पहिलोपटक थमायो ग्राहकको हातमा ।

बैंकबाट बाहिर निस्किएपछि
नोट पुग्यो
मासु पसलमा ।
नोटमा बगरेको हातको आलो रगत टाँसियो ।
त्यसपछि पुग्यो नोट
रूघाग्रस्त साहुको हातमा
नोटमा साहुको सिंगान टाँसियो ।
त्यसपछि पुग्यो नोट
कुनै आसामीको हातमा
जो भर्खरै पिसाब फेरेको हातले
नोट गन्दै थियो ।

पुग्यो नोट
भर्खरै वाथरुममा सेफ्टी प्याड निकालेर
बाहिर निस्किएकी मालिक्नीको हातमा
नोटमा टाँसियो
मासिक श्रावको रगत ।
पुग्यो नोट
यौन कर्मीको हातमा
जसमा टाँसियो चिप्लो यौनरस ।
भ्रष्ट, तस्कर, दलाल
पण्डा, नेता, हिपोक्रेट
सबैको हातहातसम्म
नोटको यात्रा जारी रह्यो ।

एकपटक बढो मुस्किलले
गरीबको हातमा पनि
पुग्यो नोट
जसमा उसको आँसु
र पसिना पनि मिसियो ।
तर भोलीपल्ट नै नोट पुग्यो
वेरोजगारीले किलकिले अँठाएर
कुलतमा फसेको
कुनै युवकको हातमा
त्यसमा गाँजाको गन्ध टाँसियो
अफिमको वासना टाँसियो ।

लामो यात्रापछि
अन्तमा पुग्यो नोट
एक भक्तको हातमा
भक्तले चढायो भगवानलाई
त्यही नोट ।

म पढिरहेछु
एउटा नोटको रोमांचक जीवनी ।
तर बुझिरहेको छैन
कि किन चढाउँछ भक्तले देउतालाई
यो फोहोर नोट ?
किन सबैभन्दा सफा लाग्छ मानिसलाई
यो फोहोर नोट ?

मेरो हातमा
हजारौं हातहरूको फोहोर टाँसिएको
कागजको एक नोट छ
म त्यसको जीवनी पढिरहेछु ।