एउटा प्रेम–गीत / ईश्वरवल्लभ
अब म अलिकति आराम गर्नेछु
बिहानपखका शून्यता र साँझको आकाशसित मेरो कुनै सम्बन्ध रहनेछैन,
तृष्णारहित तिनीहरुका सबै जीवनलाई वास्ता हुनेछैन,
केही क्षोभका र केही विश्वासका समर्पणलाई सच्याएर
केही बिग्रेका जस्ता रेखाहरुलाई पनि सच्याएर
कति युगदेखि थकाइ लागेको छ ।
हिँडिरहेका र गइरहेका यात्राको कुरा थाहा छ
अनुभूतिका अवयव जस्तै तिनीहरु जतातता छरिएका छन्
कति त घाउ पनि हुन् कति त आगोका फिलुङ्गा
तर, मेरी प्रियाले मलाई भनेकी छ—
आगो र घाउका कुरा नगर्नू— उसलाई मन पर्दैन,
त्यसैले अब म चुप लाग्ने गर्नेछु ।
घाउलाई फूल भन्नेछु
आगोलाई आस्था भन्नेछु
बाटोलाई जीवन भन्नेछु
मेरा संसर्गमा आएका यी खोलाका किनारहरुलाई
मैले राम्ररी सुम्सुम्याउन पाएको भए पनि हुन्थ्यो,
ऊ त, त्यही नौलो आकाश जस्तो हुन्थ्यो,
पश्चातापहीन, स्वप्नहीन
जुनैपनि मैले हिँडेर कजाएको गोरेटोलाई
मेरो स्पर्शको आभास हुनुपर्ने,
उसले भन्दैन
ऊ जान्दैन
ऊ अनुभव गर्दैन,
पहिलो दिनको रमाइलो भेट कति दिनपछि
न उसलाई सम्झना हुन्छ, न मलाई पनि,
पवित्रताको कथाहरुलाई किताबका बाहेक मैले कहीँ पढेको होइन,
हरेक धार्मिक किताबको पहिलो पन्नामा नै पवित्रताको पाठ छ,
बाघको आँखाले हेरेको जस्तो
तर्साउने भएर मसम्म अघि सर्छ, त्यो आँखा,
छेक्न खोज्छ सबै दिक् र दिशालाई,
मैले चाहेको सबै इच्छालाई उसले जाँच्छ,
अहिलेसम्म म धेरै नै परिक्षा गरिएको छु,
एउटा खुलेको मैदान जत्तिकै सबैले टेकिएको छ,
एउटा उत्तानो परेको नक्सा जत्तिकै सबैले हेरिएको छु,
एउटा खाली पन्ना जत्तिकै सबैले लेखिएको छु,
त्यो बाघको आँखा हो,
त्यसले हेरिरहेकोलाई फिलुङ्गा भन्नुहुँदैन,
त्यसमा पानी छ, मृत्यु छैन,
आगो छ भनेर पनि भन्नुहुँदैन,
(मेरी प्रियालाई त्यो मन पर्दैन)
मेरो सबै स्पर्शलाई सेलाउन लाउनेछु,
त्यो तातो हुन्जेल म उसलाई छुन पाउँदिनँ
बालुवाको बगरले वैशाखमा पोलेको जस्तो पोल्नेछ
पैताला र जीउहरु
तर यो आगोलाई, समुद्रमा फ्याँकिदिनेछु
एकान्तको सट्टा महान् कोलाहल
बनिरहेको स्वरको सट्टा भत्किरहेको कोलाहल,
बजिरहेको धूनको सट्टा आवाजैआवाजको कोलाहल
घाइते शहरको कोलाहल ।
म यी सबैको विरुद्ध एउटा क्रान्ति गर्न चाहन्छु
म शायद धोका दिन चाहनेछु तिमीलाई
र, अब त अलिकति आराम गर्नेछु ।