भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

एउटा युद्धको तयारी / तुलसी दिवस

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आऊ, विचारहरू केवल कागतमा नवस आऊ !
आऊ, योजनाहरू केवल टेवलमा नवस आऊ !!
आऊ, दर्शनहरू केवल दराजमा नबस आऊ !!!
आऊ, भावहरू केवल पुस्तकमा नवस आऊ !!!!

काख पसारेर पलेंटी कसी बसेका
सुत्केरी तराईहरू तयार छन्,
तराईकै फराकिला काखमा घुँडा धसेर
उभिएका बाल-युवा पहाडहरू तयार छन्,
पहाडकै कम टेकेर उक्ली अग्लिएका
बूढा हिमालहरू तयार छन्,
हामी सबै तयार छौं,
हाम्रा सम्पूर्ण तयारीहरू तयार छन् ।
 
ओर्ल, हुल बाँधेर ओर्ल, अग्लाइवाट अबै ओर्ल,
मस्तिष्कबाट अलिकति तल ओठसम्म ओर्ल,
श्रोता भएर हामी कान र आँखाहरू दिन तयार छौं ।
ओर्ल, हामफालेर छहराहरू पहराबाट भाषण ओर्ल,
ओठवाट अलिकति तल पाखुरासम्म ओर्ल,
कर्म भएर हामी हात-पाखुरा दिन तयार छौं ।

ओर्ल, कुदेर कोसी र गण्डकीहरू पहाडबाट कर्म ओर्ल,
हातबाट अलिकति तल पाउसम्म ओर्ल,
गति भएर हामी पाउ दिन तयार छौं ।
बग, गतिहरू मेची-काली बग, गन्तव्यसम्म बग,

शक्ति भएर हामी पसीनाको जलशक्ति दिन तयार छौँ ।
तयारी-तयारीहरूको हूलमा ऐले हामी यति तयार छौँ
कि युद्धका सम्पूर्ण तयारीहरूलाई
हाँक दिएर भन्न सक्छौं—
हामीले तयारी मात्र होइन
स्वयं युद्धकै घोषणा गरिसकेका छौं ।

हो अहिले हाम्रा कुनै शत्रु छैनन्
हामीबाहिर- अन्य भूमिमा
र हाम्रा शत्रुहरू ट्रेन्च खनेर बसिरहेछन्-हामीभित्रै
अलिकति हाम्रो अज्ञानतामा,
अलिकति हामो अशिक्षामा ।

हो अहिले हाम्रा कुनै शत्रु छैनन्
हामीबाहिर- अन्य सीमामा
र हाम्रा शत्र पाल टाँगेर बसिरहेछन्-हामीभित्रै
अलिकति हाम्रो अकर्मण्यतामा,
अलिकति हाम्रो आलस्यमा !

हो अहिले हाम्रा कुनै शत्रु छैनन्
हामीवाहिर- अन्य किल्लामा
र हाम्रा शत्रुहरू देवाली मनाएर बसिरहेछन्-हामीभित्रै—
अलिकति हाम्रो अभावमा, अलिकति हाम्रो पछौटेपनमा !
त्यसैले एक होइन, ऐले हामी अनेक युद्धहरू लडिरहेछौं
एउटा युद्ध- अशिक्षा र अज्ञानको विरुद्ध,
एउटा युद्ध- अकर्मण्यता र आलस्यको विरुद्ध,
एउटा युद्ध- अभाव र बेरोजगारीको विरुद्ध,
एउटा युद्ध- अशान्ति र असन्तुलनको विरुद्ध,
यस्तै यस्तै युद्धहरूबीच हामी लडिरहेछौं
अर्को फेरि एउटा युद्ध-खुदै युद्धको विरुद्ध !

आऊ, विचारहरू केवल कागतमा नवस आऊ !
आऊ, योजनाहरू केवल टेबलमा नवस आऊ !!
आऊ, दर्शनहरू केवल दराजमा नवस आऊ !!!
आऊ, भावहरू केवल पस्तकमा नवस आऊ!!!!