Last modified on 11 जनवरी 2017, at 08:52

एक फूल झरेर के भो? / राममान तृषित

एक फूल झरेर के भो? जब सात बहार आउँछ
यो मन रहिरहे धेरैको प्यार आउँछ

मदहोसको लागि केवल मदिराकै के जरुरत?
यो रात जगमगाउन ताराकै के जरुरत?
मैले उज्यालो चाहे चन्द्रै हजार आउँछ
यो मन रहिरहे धेरैको प्यार आउँछ

फुर्सद भएन कहिले रुनलाई फूल झर्दा
आँसु बनेन पानी दुई आँखाबाट गिर्दा
जीवनमा प्रीतको हलचल सय बार बार आउँछ
यो मन रहिरहे धेरैको प्यार आउँछ