भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कति दिन ? / विनोद अश्रुमाली
Kavita Kosh से
हेरूँ, कति दिन गाँज्ने हो
अक्टोपसको पन्जाले मुटु–कलेजो।
रगताम्मे हुन्छ विचार
उठ्नेबित्तिकै हरेक बिहान
लङ्गडो हुन्छ भावना
मनको सहरमा भूकम्प गइरहन्छ
आगलागी छ त्यहाँ
धूवाँ उठिरहन्छ मुस्लो–मुस्लो
आर्तनाद छ दसै इन्द्रियहरूमा
अस्तव्यस्त छन् अङ्गप्रत्यङ्ग ।
ममताको काखबाट चुँडिएको जिन्दगी
मायाको अग्लो रूखमा अल्झेर बसेको छ
उडोस् त बन्धन छ
बसोस त पाइतालामुनि कुनै धरती नै छैन ।
हरेक वर्षा
बूढो पहाडको खुट्टा धोएर
नदीनालाहरू हिँडिदिन्छन्
हरेक शरद्
आकाश पुछेर हाँसिदिन्छ
तर आफ्नो यो मन
पीडाको हरियो हिमाल बोकेर
सधैँ चुपचाप निदाउँछ ।
हेरूँ, कति दिन घोच्ने हो
लालीगुराँस र सयपत्रीले मुटु–कलेजो।