भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

कम्प्युटरमा ईश्वर / भूपिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !

इन्टरनेटमा
देवीहरुसंग
कामुक लयमा
साइबर सेक्सका कुराहरु गरिरहेका छन् –
ईश्वरहरु !

ईश्वरहरुका हातमा
माउस रिंगिरहेको छ
या रिमोट कन्ट्रोल
या बन्दुक नाचिरहेको छ !

डिजिटल कोठाभित्र
आधुनिक द्रौपदीसरुसँग
ब्लु-फिल्म हेरिरहेका छन् –
ईश्वरहरु !

आधुनिकता प्रति असीम सम्मान र असीमित तृष्णा छ –
ईश्वरहरुको !

सभ्यताप्रति
अपार स्नेह र अपरिमित लालच छ –
ईश्वरहरुको
तर पनि अझै
आधुनिक हुन सकिरहेका छैनन्
स्वर्गको आदिम जङ्गलबाट
बाहिर निस्कन सकिरहेका छैनन्
नीतिशास्त्रको पुस्तकमा जमेको
शताब्दियौं पुरानो धुलो
अझै पनि पुछ्न सकिरहेका छैनन् –
ईश्वरहरु !

कम्प्युटरमा
नभएको स्वर्गबाट
देवीले पठाएको इ-मेल पढिरहेका छन् –
ईश्वरहरु !