भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

कर्फ्यु / बेञ्जू शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बिहानै सिरानीको शिरमा
कर्फ्युको साइरन
मृत्युको शंखघोष हुँदा
गतिमा गोली लाग्दा
आवाजहरू दगुरिरहेका
तारहरुको घाँटी निमोठिँदा
शब्दहरू शरशय्यामा रोपिएको छ ।

घाँटीमा कर्फ्यु
पाइलामा कर्फ्यु
आँखामा कर्फ्यु
सम्पूर्ण संवादमा कर्फ्यु
कर्फ्यु भाइरसले
निस्लोट ज्वरमा
देशलाई पकाउँदा
कर्फ्युको ठिँगुरोमा
देशलाई ठिँगुराउँदा
अरुलाई ताकेको बन्दुक
उल्टिएर कहिले
आफ्नै छातीमा पड्कन सक्छ
सायद यही समय आएको छ ।

गतिहरू गर्वमा पुरिँदा
पाइलाहरू पातालमा भासिँदा
मात्र दिमाग दरिलो भएर
द्रूत गतिमा दगुरेको छ
टाउकाहरू पृथ्वीसंगै
घुमेका छन्
जति हातले पौठेजोरी खेल
लात्ताले हान
जति मल्लयुद्ध लड
तर टाउकासँग टकरार नगर
विश्वसँगै घुमिरहेको
विचारको संवाहक
एउटा विन्दुमा
सम्पूर्ण सिन्धु अट्ने
द्रुत गतिका दूतहरू
एउटै खल्तीभित्र अड्ने
एक्काइसौँ शताब्दीको
दिमागसँग शत्रुता नमोल ।

अब बाबुले खाएको घिउको
हातमा कुनै सुगन्ध छैन
उहिलेका कुरा
उड्ने रङ्गजस्तै
खुइलिइसके
आजलाई
हिजोको खिया परेको साँचोले
कसरी बन्द गर्छौ ?
यी ताल्चा र साँचोका
सिक्री र साङलाका कुरा
यी दासताले छल्ने कुरा
कर्फ्युको कक्राइले करेट्ने कुरा
उहिले उहिलेका कुरा
लाक्षागृहका कुरा
पासाको खेलले
द्रौपदीलाई निर्वस्त्र पार्ने कुरा
धमिलो पानीमा
माछा मार्ने कुरा
वेश्याले गर्ने
पतिव्रताका कुरा
यो अब नगर
ओठे प्रजातन्त्रका कुरा