कलमहरू कविता लेख्छन् / निमेष निखिल
हर्षमा मात्र हैन
विष्मात र पीडाका मौन पहाडमा पनि
कविहरू संवेदनाका जुलुसहरू देख्छन्
कलमहरू कविता लेख्छन्।
कविको कवित्व
हर्षमा भन्दा विष्मातमा मौलाउँछ
सुकृतिमा भन्दा विकृतिमा उर्वर हुन्छ
कवि फूलभन्दा काँडा मन पराउँछ
नजिकभन्दा टाढा मन पराउँछ
अनास्थामै कविहरू आस्थाका पुञ्जहरू देख्छन्
निराशामै कविहरू आशाका किरणहरू देख्छन्
हो
विष्मात र पीडाका मौन पहाडमा पनि
कविहरू संवेदनाका जुलुसहरू देख्छन्
कलमहरू कविता लेख्छन्।
भोकाएर कविहरू
भोकबाटै कविताको ऊर्जा लिन्छन्
अभावका भाव टिपेर
निरीहका कविता लेख्छन्
अशक्तताका झिल्काहरू बटुलेर कविहरू
अकिञ्चनका आर्तहरू ओकल्छन्
र त
विष्मात र पीडाका मौन पहाडमा पनि
कविहरू संवेदनाका जुलुसहरू देख्छन्
कलमहरू कविता लेख्छन्।
त्यसैले भन्छु म
ए हातमा लगाम लिएको झुठो भ्रम पाल्नेहरू हो !
बङ्ग्याएर कलमहरू
आफ्नो अनुकूल ढाल्ने प्रयास नगर
बन्दी बनाएर कलमहरू
चैनको रात बिताउने विभ्रम नपाल
उन्मुक्त छोडिदेऊ कविहरूलाई
स्वच्छन्द छोडिदेऊ कलमहरूलाई
नबिर्स–
विष्मात र पीडाका मौन पहाडमा पनि
कविहरू संवेदनाका जुलुसहरू देख्छन्
कलमहरू कविता लेख्छन्।