हत्या गरियो एउटा कविको 
कविले बन्दुक समाएको थिएन 
निसाना साध्न पनि जान्दैनथ्यो कवि
हतियार भिरेर हिँडेको थिएन कवि
विस्फोटक पदार्थको निर्माता पनि थिएन 
तर पनि हत्या गरियो कविको 
किन हत्या गरियो कविको ?
किन हत्या गरियो त कविको ?
सायद गोलीभन्दा छेडिने भए 
उसका शब्दहरू
सायद बन्दुकभन्दा शक्तिशाली भए
उसका वाक्यहरू
सायद क्षेप्यास्त्रभन्दा अद्भुत भए
उसका विचारहरू
सायद आगोभन्दा छोइने भए 
उसका अभिव्यक्तिहरू ।
त्रसित भए निरङ्कुशहरू
षड्यन्त्रपूर्वक हत्या गरियो कविको 
किन हत्या गरियो कविको ?
मात लागेर सत्ताको 
धराप थापेर शक्तिको
माथ गर्दै निरङ्कुशतालाई 
स्वतन्त्रता खोसियो कविको 
हत्या गरियो निहत्था कविको 
किन हत्या गरियो कविको ?
कविका शब्दहरू झिल्का झैँ उडे सर्वत्र
कविका वाक्यहरू मसालझैँ बले सर्वत्र 
समयले सिञ्चन गर्योल 
जताततै साहस र शौर्य
कविको हत्या गरिए पनि
शान्त रहेन देश
मौन र निस्तब्ध रहेन परिवेश
किन हत्या गरियो कविको ?
भ्रष्टहरूलाई धाप मार्नेहरू 
अपराधीहरूलाई काँधमा बोक्नेहरू 
निरङ्कुशहरू, राष्ट्रघातीहरू 
थर्कमान भइरहे कविसँग 
आतङ्कित भइरहे कविसँग 
नत्र किन बन्दी बनाइयो कविलाई 
किन हत्या गरियो कविको ?
चर्किएर चरचरी चिरिएको घर 
सायद थर्कियो कविको हुङ्कारले 
भत्किएर भताभुङ्ग भएको परिवेश 
सायद हल्लियो कविको फुँकारले 
कविले साटेन आफूलाई वैभवमा 
कविले निहुराएन आफूलाई विलासितामा 
कविको शिर सगरमाथा भएर उठिरह्यो 
कविको आत्मसम्मान 
ब्रह्माण्ड भएर आलोकित भइरह्यो
अत्याचारीहरू आतङ्कित भए
अनि बन्दी बनाइयो कविलाई ।
कायरतापूर्वक हत्या गरियो कविको 
किन हत्या गरियो कविको ?